पहिरोबाट ज्यान गुमाएका परिवारलाई रु एक लाख

पहिरोबाट ज्यान गुमाएका तनहुँको व्यास नगरपालिका–११ ओडारेका एक परिवारलाई तनहुँका सङ्घीय सांसद कृष्णकुमार श्रेष्ठले रु एक लाख सहयोग गर्नुभएको छ । गत असार २९ गतेको पहिरोबाट ज्यान गुमाएका पदम चेपाङका परिवारलाई सांसद श्रेष्ठले रु एक लाख सहयोग गर्नुभएको हो ।

उक्त रकम सांसद श्रेष्ठले आज मृतकका श्रीमती फूलमाया चेपाङलाई हस्तान्तरण गर्नुभयो । जनतालाई दुःख परेको बेला आफू सधैँ जनताको साथमै रहेको बताउँदै सांसद श्रेष्ठले राहत रकमले पीडामा मलम लगाउन सहयोग पुग्ने बताउनुभयो । नेपाल चेपाङ सङ्घ तनहुँका अध्यक्षसमेत रहनुभएका पदमको शव असार ३० गते भेटिएको थियो ।

यसैगरी सांसद श्रेष्ठले ओडारेका ३६ घर चेपाङ परिवारलाई ४० बोरा चामलसमेत उपलब्ध गराउनुभएको छ । शनिबार मात्रै सांसद श्रेष्ठले भानु नगरपालिका–९ सिमलगैह्रामा पहिराले पुरिएर निधन भएका दुई जनाको परिवारलाई रु ५० हजार, व्यास नगरपालिका–९ माझफाँट र गजौडेका दुई छुट्टाछुट्टै परिवारलाई रु २५÷२५ हजार प्रदान गर्नुभएको थियो । सांसदमा निर्वाचित भएपछि तलबभत्ता नलिने घोषणा गर्नुभएका श्रेष्ठले आफूले प्राप्त गर्ने तलबभत्ता विभिन्न सामाजिक सङ्घसंस्थालाई हस्तान्तरण गर्दै आउनुभएको छ ।