राष्ट्रिय अनलाइन वक्तृत्वकलामा सुवेदी प्रथम
चिप्लेढुङ्गा, ८ असार । नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीद्वारा आयोजित माविस्तरीय राष्ट्रिय अनलाइन वक्तृत्वकला प्रतियोगितामा बगलामुखी राधाकृष्ण थारु मावि बर्दियाकी प्रश्ना सुवेदी प्रथम हुनुभएको छ । देशभरबाट ९७ विद्यार्थीबीचको प्रतियोगितामा दमकडा मावि पाल्पाका सन्दीप थापा द्वितीय र अमरसिंह नमूना मावि पोखराकी अपेक्षा अधिकारी तृतीय हुनुभएको छ । उहाँहरुले क्रमशः रु २५ हजार, रु १५ हजार र रु १० हजारसहित प्रमाणपत्र पाउनुभएको छ ।
संगठन राष्ट्रिय समितिका अध्यक्ष लक्ष्मण शर्माले बन्दाबन्दीमा संगठनले आयोजना गरेको सिर्जनात्मक कार्यले विद्यार्थीलाई आगामी दिनमा नेतृत्ववान् बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । संगठन कास्की अध्यक्ष रोमहर्षण पौडेलले देशभरका १६ एफम रेडियो, दुई टेलिभिजन तथा संगठनको फेसबुक पेज र युट्युबबाट प्रतियोगिता प्रत्यक्ष प्रसारण भएको जानकारी दिनुभयो ।
बन्दाबन्दीमा संगठनले यसअघि शिक्षकका लागि प्रविधिमैत्री तालीम सञ्चालन गरेको थियो । सो कार्यक्रमले संगठनलाई अझ थप सिर्जनात्मक कार्य गर्न उत्साहित भएको बताउँदै उहाँले फेरि छिट्टै विद्यार्थीसँग शिक्षक संगठन भाग २ आउने जानकारी दिनुभयो ।
निर्णायकका तर्फबाट डोलराज अर्यालले कसैको प्रस्तुतीकरण र कसैको विषयवस्तुमा गाम्भीर्य पाइएको बताउनुभयो । विभिन्न चरण गरी १४ दिनसम्म प्रतियोगिता चलेको संगठन जिल्ला सचिव तथा कार्यक्रम संयोजक तीर्थराज ढकालले जानकारी दिनुभयो ।