भारतको बिरोध गर्दै माइतीघरमा प्रदर्शन गर्ने विद्यार्थीलाई प्रहरीले इलेक्ट्रोनिक सकर लगाएको खुलासा

काठमाडौं, १ जेठ । भारतले नेपाली भूमि अतिक्रमण गरेर चीन जोड्ने सडक बनाएको विरोधमा माइतीघर क्षेत्रमा भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले विद्युतीय झट्का प्रयोग गरेको पाइएको छ । विद्यार्थीले गरेको सो प्रदर्शनमा विद्युतीय झट्का प्रयोग गरेको खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रहरीले विद्युतीय झट्का दिने इलेक्ट्रोनिक सकर २०६२–०६३ को जनआन्दोलनमा प्रयोग गरेको थियो । हुलदंगा हुँदा कसैलाई नियन्त्रणमा लिनुपर्दा वा दंगा गर्नेलाई भागाउन उक्त इलेक्ट्रोनिक सकर प्रयोग गरिने प्रहरीले जनाएको छ ।

तर माइतीघरमा सोमबार शान्तिपूर्ण रुपमा भेला भएका विद्यार्थीमाथि प्रहरीले उक्त डिभाइस प्रयोग गरेको हो । पूर्वमहान्यायाधीवक्त रमण श्रेष्ठले प्रहरीले झट्का दिनुलाई मौलिक अधिकार र मानवअधिकार विरुद्धको कार्य भएको टिप्पणी गरेका छन् ।

प्रहरी प्रवक्ता निरजबहादुर शाहीले भने फिल्डमा खटिएका अधिकृतलाई यसबारे थाहा हुने प्रतिक्रिया दिए ।