कोरोनाकैबीच पीसीबीले गर्‍यो आगामी क्रिकेट प्रतियोगिता घोषणा

एजेन्सी, ३१ बैशाख । कोरोना माहामारीकैबीच पाकिस्तान क्रिकेट बोर्डले सन २०२०–२०२१ को लागि सेन्ट्रल कन्ट्रयाक्ट घोषणा गरेको छ । यसको साथै पीसीबीले घरेलु र विदेश भ्रमणको क्रिकेट श्रृंखलाहरु आगामी वर्ष अप्रिल सम्मको लागि घोषणा गरेको छ ।

कोरोना भाइरस महामारीको कारण क्रिकेट प्रतियोगिताहरु विश्वभर स्थगित भएका बेला पाकिस्तानले भने यस बर्ष जुलाईमा आईरल्यान्ड बिरूद्ध दुई टी २० श्रृंखलाको लागि योजना बनाएको छ ।

यस बाहेक पाकिस्तानी टोलीले जुलाई देखि सेप्टेम्बरसम्म ईङल्यान्डको भ्रमण गर्नेछ । पाकिस्तानले ईङल्यान्ड टुरमा तीन टेस्ट र तीन टी २० खेलको शृंखला खेल्नेछ ।
यसैबीच पाकिस्तानले सेप्टेम्बरमा नै एसिया कप टी २० प्रतियोगिता पनि आयोजना गर्नेछ । एसिया कप टी २० प्रतियोगिता पछि पाकिस्तानले उनीहरूको एफटीपीमा दक्षिण अफ्रिकाको यात्रा समावेश गरेको छ । यस भ्रमणमा टोलीले तीन एकदिवसीय र तीन टी २० खेलको श्रृंखला खेल्नुपर्नेछ । पाकिस्तानको टीम सेप्टेम्बरको अन्त्यमा दक्षिण अफ्रिका जानेछ ।

त्यस पछि टोली आईसीसी टी २० विश्वकपमा सम्मिलित हुनेछ । आईसीसी टी २० वर्ल्ड कप अक्टुबर–नोभेम्बरमा अष्ट्रेलियामा आयोजना हुने योजना छ । विश्वकप समाप्त भएपछि पाकिस्तानी टीमले जिम्बावे बिरूद्ध घरेलु मैदानमा तीन एकदिवसीय र तीन टी २० खेलको शृंखला खेल्नेछ ।

त्यसपछि, पाकिस्तानी टीम नोभेम्बर–डिसेम्बरमा न्यूजील्याण्डको भ्रमण गर्नेछ। यस भ्रमणमा टोलीले दुई टेस्ट र तीन टी २० खेल खेल्नुपर्नेछ ।

पाकिस्तान क्रिकेट टीमले सन २०२१ दक्षिण अफ्रिका बिरूद्ध घरेलु श्रृंखलाका साथ शुरू गर्नेछ। पाकिस्तान टोलीले २०२१ जनवरी–फेब्रुअरीमा दक्षिण अफ्रीका बिरूद्ध दुई टेस्ट र तीन टी २० खेल खेल्नेछ, जुन पाकिस्तानले घरेलु मैदानमा आयोजना गर्नेछ ।

पीसीबीले घरेलु र विदेश भ्रमणको क्रिकेट श्रृंखलाहरु घोषणा गरे पनि खेलको मिति र स्थान भने घोषणा गरेको छैन ।