साउदी अरबमा कार्यरत ६७४ जना नेपाली कामदार कोरोना भाइरसबाट संक्रमित

रियाद , ३० बैशाख । खाडी मुलुक साउदी अरबमा कार्यरत ६ सय ७४ जना नेपाली श्रमिकमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । मंगलबार रियादस्थित नेपाली दुतावसले एक सुचना जारी गर्दै ६ सय ७४ जना नेपालीलाई कोरोनाको संक्रमणपुष्टि गरेको हो ।

साउदी अरबको पूर्वी क्षेत्रमा ३ सय ३६ , पश्चिमक्षेत्र मक्का, मदिना, जेद्दा र जजानमा १ सय ४८, रियाद क्षेत्रमा १ सय ७५ , कसिम क्षेत्रमा ३ , हायल क्षेत्रमा ३ र अन्य स्थानमा ९ जना नेपालीहरू संक्रमित भएका छन् । संक्रमितमध्ये कतिपय निको भएर काममा समेत फर्किसकेको दूतावासले जनाएको छ ।

संक्रमितमध्ये ११ जना महिला कामदार रहेको दूतावासले जनाएको छ । कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको पुष्टि भएको छ । तर साउदी अरबमा कोरोना संक्रमण शुरु भएदेखि हालसम्म विभिन्न कारणले ३१ जना नेपालीले ज्यान गुमाएको दुतावासले जनाएको छ ।

रियादस्थित नेपाली दुतावासले जारी गरेको सूचना तल :

”१. माननीय परराष्ट्र मन्त्री श्री प्रदीपकुमार ज्ञवालीले वैदेशिक रोजगारीका मुख्य गन्तव्य मुलुकका लागि नेपाली राजदूतहरुसँग आज एक भिडियो सम्बाद गरी कोरोना संक्रमणको पछिल्लो अवस्था, नेपाली श्रमिकहरुमा संक्रमण अवस्था र प्रभाव, रोजगारी, खाना र आवासको अवस्था, श्रमिक समस्याको प्रकृति र समस्यामा परेका कामदारहरुको प्राथमिकताको आधारमा स्वदेश फिर्ति लगायतका आवश्यकताका विषयमा जानकारी लिई आगामी दिनका लागि आवश्यक निर्देशन दिनुभयो ।

माननीय परराष्ट्र मन्त्रीसँगको सम्वादमा महामहिम् राजदूत प्रा.डा. महेन्द्र प्रसाद सिंह राजपुतले कोरोना संक्रमणको महामारीमा साउदी अरबमा कार्यरत नेपाली श्रमिकहरुले भोगेका समस्या, नेपाली समुदायसँगको सहकार्यमा नेपाली राजदूतावासले गरेका समाधानका पहल, समस्यामा भएकाहरुको प्राथमिकताका साथ उद्बारको आवश्यकता लगायतका विषयमा जानकारी गराउनु भयो ।

परराष्ट्र सचिवज्यूले संकटको यस अवस्थामा श्रमिकहरुका समस्या समाधान गर्न राजदूतावासहरुले गन्तव्य मुलुकका सरकार र रोजगारदातासँग राम्रो समन्वय गरी सक्रिय भएर काम गर्न निर्देशन दिनुभयो ।

३. आज मिति २०७७।०१।३० (मे १२, २०२०) मा साउदी अधिकारीहरुले दिएको जानकारी अनुसार साउदी अधिराज्यमा कोरोना भाइरसबाट संक्रमितको संख्या ४२,९२५ पुगेको छ । आज थप १,९११ जनामा संक्रमण भएको छ । कूल संक्रमितहरु मध्ये हालसम्म १५,२५७ जना निको भएका छन् । आज एकै दिन २५२० जना निको भएका छन् । आज ९ जना सहित आजसम्ममा जम्मा २६४ जना संक्रमितको मृत्यु भएको छ ।

४. साथै, साउदी स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयले दिएको जानकारी अनुसार ६७४ जना नेपालीहरू कोरोनाबाट संक्रमित भएका छन् । प्राप्त विवरण अनुसार क्षेत्रगत विभाजनलाई हेर्दा साउदी अरबकाे पूर्वी क्षेत्रमा (जहाँ नेपाली श्रमिकहरूको ठूलो उपस्थति रहेको छ) ३३६ जना, पश्चिमक्षेत्र (मक्का, मदिना, जेद्दा र जजान आदि) मा १४८ जना, रियाद क्षेत्रमा १७५ जना, कसिम क्षेत्रमा ३ जना, हायल क्षेत्रमा ३ जना र अन्य स्थानमा ९ जना नेपालीहरू संक्रमित भएको देखिन्छ ।

कुल संक्रमितमा ११ जना नेपाली महिला रहेको विवरण छ । संक्रमित भएका मध्ये कैंयौँ जना निको भई काममा फर्किसकेको जानकारी समेत प्राप्त भएको छ । साउदी सरकारले दिएको जानकारी अनुसार साउदी अरबमा कोरोना संक्रमण शुरु भए देखि विभिन्न कारणले मृत्युभएका ३१ नेपाली नागरिकहरु मध्ये १ जना नागरिकको कोरोना संक्रमणबाट मृत्युभएको छ । तीनजना नेपालीको मृत्युको कारण प्रष्ट नभएकाले खुलाई पठाइदिन साउदी सरकारलाई अनुरोध गरिएको छ ।

—————————-

नेपाली राजदूतावास

रियाद ।

२०७७।०१।३०”