भारतीय क्वारेन्टाइनमै सयौं नेपालीले आन्दोलनमा उत्रेपछि …!

भैरहवा, ३० बैशाख । तीन साता क्वारेन्टाइनमै बिताएपछि पनि स्वदेश आउन नपाएपछि भारतको नौतनवास्थित क्वारेन्टाइनमा रहेका सयौं नेपालीले आन्दोलन गर्न थालेका छन् ।

भोक हडतालसहितको आन्दोलन गर्नाले उनीहरुको व्यवस्थापन गरिरहेका भारतीय सुरक्षा अधिकारी र प्रशासनिक निकाय समस्यामा परेका छन् । भारतीय पक्षले क्वारेन्टाइन अवधि पूरा गरेका नेपालीलाई नेपाल लैजान बारम्बार आग्रहसमेत गर्न थालेको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले उनीहरुले बारम्बार आन्दोलन गर्न थालेपछि भारतीय पक्ष समस्यामा पर्न थालेको र आन्दोलन नगर्न आफूले सम्झाउने प्रयास गरिरहेको बताए । ‘मैले दुई पटकसम्म नेपालबाट अधिकृतहरु पठाएर आन्दोलन नगर्न सम्झाइबुझाइ गर्ने प्रयास गरेँ,’ पन्थले भने, ‘क्वारेन्टाइनमा बसेको धेरै दिन बित्दा पनि स्वदेश आउन नपाएका उनीहरुले आन्दोलन गर्ने गरिरहेका छन् ।’

लकडाउन र सिमाना सिल गरिँदा नेपाल–भारतबीच माथिल्लो स्तरमा नै जो जहाँ छ त्यहीँ नै सुरक्षित बस्ने भन्ने सहमति भएअनुरुप स्थानीय स्तरबाट अन्य निर्णय गर्न नसकिँदा क्वारेन्टाइन अवधि पूरा गरेकालाई पनि स्वदेश आउने अनुमति दिन नसकिएको नेपाली सुरक्षा अधिकारी बताउँछन् ।

नेपाली सुरक्षा अधिकारीका अनुसार, नौतनवाको क्वारेन्टाइनमा २१ दिन बिताइसकेका ७ सयभन्दा धेरैको विवरण प्राप्त भइसकेको छ । दिनहुँ सिमानाबाट लुकेर नेपाल छिर्न खोज्नेलाई फर्काएर भारतीय सुरक्षाकर्मीको साथमा क्वारेन्टाइनमा बस्न लगाइने गर्नाले यो संख्या बढिरहेको हो । भारतीय पक्षले थप ८ सयको हाराहारीमा नेपाली थपिएको जानकारी दिएका छन् ।

नौतनवामा रहेका नेपाली मेचीदेखि महाकालीसम्मका र विकट र हिमाली जिल्लाका समेत छन् ।