पूर्व युवराज पारस शाह लाइभ आएर भने – ‘म हर्टअट्याक भएपनि उठ्ने मान्छे हो’

काठमाडौं, २२ बैशाख । पूर्व युवराज पारस शाहले आफूलाई हृदयघात भएको भन्ने समाचारहरु सार्वजनिक भएकोबारे आश्चर्य प्रकट गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गर्दै पूर्व युवराज शाहले आफू हर्ट अट्याक हुने मानिस नभएको र यस्तो भ्रम नछर्न आग्रह गरेका हुन् ।

‘हर्ट अट्याक हुने मान्छे हो म ?’ उनले प्रश्न गर्दै भने, ‘हार्ट अट्याक भएपनि उठ्ने मान्छे हो म ।’

आफ्ना बारेमा काम नपाएका मानिसहरुले अनर्गल प्रचार गर्ने गरेको भन्दै उनले दुःख व्यक्त गरे ।

लकडाउनका समयमा शाह केही साथीहरुसँग पोखरामा मस्ती गरिरहेका छन् ।

‘हो चार दिनदेखि ननस्टप पार्टी गरिरहेको छु’, उनले भने, ‘अझै हप्तादिन महिना दिन गर्छु ।’

एटिएमबाट पैसा चोरि भएको समाचार आएको भन्दै उनले आलोचना गरे । देशमा तीस बर्षदेखि आफूहरु विरुद्ध मानिसहरु लागेको उनको भनाइ थियो ।

‘नो थिङ रङ विथ मि,’ उनले भने, ‘देश यस्तै छ । ३० वर्ष भयो नेपाल अहिले पनि त्यस्तै छ ।’

भिडियो लाइभका क्रममा पारससँग एक पुरुष र महिलाको स्वर सुनिन्छ । उनीहरुले लाइभका क्रममा आएका कमेन्टहरुबारे शाहलाई जानकारी गराउने र उनले भनेका कुरामा समर्थन गरिरहेका छन् ।

लाइभमा पनि उनि चुरोटको धुवाँ उडाउँदै गीतको तालमा झुमिरहेका हुन्छन् । साथीहरुसँग उनी मस्त देख्न सकिन्छन् ।