सिन्धुपाल्चोकबाट प्रहरी टोली बम्जनको सिन्धुलीस्थित आश्रम तर्फ बढे, आश्रमबाट एक महात्मा गुरु नियन्त्रणमा

सिन्धुली, २६ पुस । तपस्वी रामबहादुर बम्जनको एक आश्रमबाट प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

बम्जनको सिन्धुलीको आश्रमबाट एक महात्मा गुरु भनिने इन्द्रबहादुर स्याङ्तानलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

महात्मा गुरुलाई सोधपुछका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिए ।

विगत तीन वर्षदेखि बस्दै आएका रामेछाप भिरपानी घर भएका २० वर्षीया सोनाम मुक्तान, तोप्चेन गुरुलगायतका व्यक्तिसँग प्रहरी नायव उपरीक्षक विमलराज कँडेलको टोलीले बुधबार बेलुका आश्रममा सोधपुछपछि स्थलगत अवलोकन गरेको थियो ।

रामबहादुर बम्जनको सिन्धुलीको पैरै, सर्लाहीको पत्थरकोट र सिन्धुपाल्चोकमा मात्र आश्रम रहेको उनका अनुयायीले बताएका थिए । सत्यको खोजीका लागि यस धर्ममा लागेको र आफूहरूले ज्ञान प्राप्त गरिरहेको उनीहरूको भनाइ थियो । गुरु बन्द प्रशिक्षणमा रहेकोले बम्जनलाई अहिले भेट्न नमिल्ने उनीहरूले प्रहरीलाई जवाफ दिएका थिए ।

हराएका भनिएका व्यक्तिको खोजतलासका लागि सिन्धुपाल्चोक बाँडेगाउँ आश्रममा छापा मारेपछि प्रहरीको टोली आवश्यक थप अनुसन्धान गर्न हाल बम्जन बसिरहेको भनिएको सिन्धुलीस्थित आश्रमतर्फ आएको हो ।