‘क्रिसमस टोपी’ बारे श्रृंखलाको स्पष्टिकरण :‘म हिन्दू हुँ तर अरु धर्मका चाडपर्वलाई पनि सम्मान गर्छु’

काठमाडौं, २५ पुस । क्रिसमसकै वरिपरी मिस नेपाल श्रृंखला खतिवडाले मकवानपुरस्थित दुर्गम कैलाश गाउँपालिकामा रहेको चेपाङ गाउँ ताम्लाङमा चेपाङ बच्चाहरुलाई क्रिसमस टोपी’ बाँडेको तस्वीर उनको इन्टाग्राममा पोस्ट गर्ने बित्तिकै विभिन्न खालका कमेन्ट आएका थिए ।

कसैले उनको शैलीबाट दुखी भएको बताएका छन् भने कतिपयले उनको बचाउ गरेका छन् । एकजनाले लेखका छन्, ‘क्रिसमस टोपीले बच्चाको जाडो थेग्छ ? न्यानो टोपी दिएको भए हुन्थ्यो नी ।’ यद्यपि, श्रृंखलाले ब्ल्याङ्केट र न्यानो कपडाहरु पनि बाँडेकी थिइन् ।

पछिल्लो समय सामाजिक संजालमा श्रृंखलाको उही फोटोको बारेमा चर्चा परिचर्चा भैरहेको छ । कतिपयले उनलाई क्रिस्चियानिटीको प्रवर्द्धन गरेको भनेर आरोप लगाइरहेका बेला अनलाइन खबरले यसको बारेमा जिज्ञासा राखेको थियो ।

यस क्रममा श्रृंखलाले भनिन्, ‘थेम्स कलेजका केही विद्यार्थीहरुले बच्चाहरुलाई सानो उपहारका रुपमा ती टोपीहरु उपलब्ध गराउनुभएको हो । त्यसलाई मैले बाँडेकी हुँ । बच्चाहरु रमाए । के गल्ती भयो ?’

‘म हिन्दू हुँ तर अरु धर्मका चाडपर्वलाई पनि सम्मान गर्छु,’ श्रृंखलाले थपिन्, ‘धर्मनिरपेक्ष मुलुकमा क्रिसमस टोपीलाई लिएर विवाद गर्नु आवश्यक छैन । फेरि यो कुनै क्रिस्चियन संस्था वा आइएनजीओले प्रायोजन गरेको पनि होइन ।’

स्मरण रहोस्, गाउँमा श्रृंखलाले एउटा हेल्थपोष्ट निर्माण गर्दैछिन् जसको फिनिसिङको काम भइरहेको छ । उनले तीन महिनाभित्र हेल्थ पोष्ट सञ्चालनमा ल्याउने लक्ष्य रहेको बताइन् । साथै उनी गाउँमा चाँडै बिजुली बत्ती पुर्‍याउन पनि प्रयासरत छिन् ।