चिकित्सा शिक्षा विधेयक : गगन भर्सेस योगेशको घम्साघम्सी, डा केसीले थाल्ने भए १६औं अनसन !

काठमाडौं, २५ पुस । बुधबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले बहुमतका आधारमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक स्वीकृत गरेको छ ।

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी र प्रतिपक्षी नेपाली कांग्रेसका सांसदबीच सहमति नभएपछि समितिले बहुमतबाट विधेयक स्वीकृत गरेको हो ।

बैठकमा कांग्रेसका ४ जना सांसदले फरक मत राखे पनि विधेयक स्वीकृत गरेर संसदमा पठाउने निर्णय गरेको हो । सभापतिबाहेक १८ जना सदस्यमध्ये १४ जनाले विधेयकको पक्षमा मत दिएका थिए ।

बैठकमा नेकपाका सांसद योगेश भट्टराई र कांग्रेस सांसद गगन थापाले विधेयकबारे आफ्ना धारणा राखेका थिए ।

उपसमितिमा भट्टराई र थापा सदस्य थिए। सभापति जयपुरी घर्तीले दुबै सांसदहरूलाई विधेयकमा सहमति जुटाउन एक दिनको सहमति दिएकी थिइन् ।

आजको बैठकको सुरूमा उनले दुबै जनालाई सोधिन्- तपाईंहरूले सहमति गर्नुभयो?

भट्टराई र थापाले सहमति हुनेभन्दा पनि यो विषयमा आफूहरूबीच कुरै हुन नपाएको बताए ।

त्यसपछि सभापति घर्तीले विधेयकको स्वीकृति निर्णायार्थ पेश गरिन् र सांसद थापालाई बोल्न दिइन् ।

पूर्वस्वास्थ्य मन्त्रीसमेत रहेका थापाले डाक्टर गोविन्द केसीसँग भएको सहमति संसदमा रेकर्ड रहेको उल्लेख गर्दै विधेयकमा सबै कुरा बदल्नु थियो भने केसीसँग सहमति किन गरेको? भन्दै प्रश्न गरे ।

नेकपा सांसद भट्टराईले विधेयकमा आफूहरूबीच धेरै कुरा न्यारो डाउन भए पनि सहमति हुन नसकेको बताए ।

‘उहाँहरू र हामीबीच कुनै ठूलो भिन्नता छैन, धेरै न्यारो डाउन भयो तर सहमति भएन,’ भट्टराईले भने, ‘डाक्टर केसीसँगको सहमति हामीले तोडमोड गरेको छैनौं । बाटोबाटै सम्बन्धन बाँड्ने विगतको अवस्था यो विधेयक पारित भएपछि रोकिन्छ ।’

उनले उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाउने व्यवस्था महत्वपूर्ण रहेको बताए ।