के कारणले हुन्छ नवजात शिशुमा जण्डिस ?

विलिरुबिनको मात्रा धेरै भई नवजात शिशुमा देखिने जण्डिस वा पहेंलोपनालाई नियोनेटल हाइपर विलिरुबिनेमिया वा नियोनेटल जण्डिस भनिन्छ । यो सामान्य वा फिजियोलोजिक तथा असामान्य वा प्याथोलोजिकल गरी दुई प्रकारको हुन्छ । वयस्कको रगतमा सामान्यतः बिलिरुविनको मात्रा १ मिलिग्राम प्रतिडेसिलिटर हुन्छ भने २ मिलिग्राम प्रति डेसिलिटरभन्दा धेरै भयो भने जण्डिस भएको मानिन्छ । सामान्यतयाः महिना पुगेका शिशुमा एक चौथाइदेखि सयकडा ५० प्रतिशत र महिना नपुगेका शिशुमा त्योभन्दा पनि बढी जण्डिस देखिन्छ ।
बिलिरुविन कसरी पैदा हुन्छ ?

विलिरुविन रक्तकोषको विर्सजन वा खण्डन हुँदा प्रत्युत्पादक पदार्थको रुपमा उत्पन्न हुन्छ । मुख्य हिम प्रोटिनको रुपमा रक्तकोषमा रहेको हेमोग्लोविन खण्डित हुँदा प्रति १ ग्राम हेमोग्लोविन बराबर करीब ३४ मिलिग्राम विलिरुविन उत्पादन हुन्छ । रक्तकोषबाट धेरैभन्दा धेरै हेमोग्लोविन खण्डित हुने अवस्था अथवा हेमोलाइसिस हुने अवस्था असामान्य वा प्याथोलोजिकल हो । जस्तै रक्तकोषको खराबी, रिसस व्लर्ड ग्रुपको असामान्जस्यता, रक्तश्राव वा रक्त संकलन(हिमाटोमा वा ब्रुजिङ्ग) वा रक्तकोषमा इन्जाइमको कमिलाई असामान्य प्याथोलोजिकल भनिन्छ । तथापि सामान्य अवस्थामा उमेर पुगेका रक्तकोष खण्डित हुँदा पनि विलिरुविन उत्पन्न हुन्छ, यसलाई फिजियोलोजिकल भनिन्छ । रक्तकोषको निर्माणका क्रममा बोनम्यारोमा बनेका अपूर्ण वा असामान्य कोष छिट्टै खण्डित हुन्छन् र त्यसबाट पनि बिलिरुविन उत्पन्न हुन्छ । यसरी उत्पन्न भएको विलिरुविनलाई रगतमा रहेको एल्बुमिनले कलेजोसम्म पु¥याउछ । जहाँ विभिन्न चरणका मेटाबोलिक प्रक्रियाहरुले कन्जुगेट गरेर बनेको कन्जुगेटेड बिलिरुविन पित्तथैली एवम् पित्तमार्ग हुँदै पित्तको रुपमा आन्द्रामा प्रवेश गर्दछ । जसका कारण सामान्यतया दिसाको रङ्ग पहेंलो हुन्छ । यो पित्तले चिल्लो पदार्थ पचाउने काम गर्छ ।
सामान्य वा फिजियोलोजिकल जण्डिस

नवजात शिशुमा रगतमा अनकन्जुगेटेड बिलिरुविनको मात्रा पहिलो हप्ताभित्रै २ मिलिग्राम प्रति डेसिलिटरभन्दा धेरै हुन्छ । महिना पूर्ण भएका शिशुमा पहिलो ३ दिनमै ६ देखि ८ मिलिग्राम प्रति डेसिलिटर पुगिसक्छ र १२ मिलिग्राम प्रति डेसिलिटरलाई सामान्य वा फिजियोलोजिकल जण्डिस भन्ने गरिन्छ । महिना नपुगेका बच्चामा यो मात्रा १५ मिलिग्राम प्रति डेसिलिटरसम्म पुग्नसक्छ । सामान्यतया यो पहिलो १/२ हप्तासम्म भई बिस्तारै लेभल कम हुँदै जान्छ ।
के कारणले हुन्छ ?

– विलिरुविनको धेरै उत्पादन ः रक्तकोषको आयु १२० दिनभन्दा कम हुने र धेरै रक्तकोषको लोड हुनाले ।
– प्रभावहिन रक्तकोष उत्पादन वा धेरै हिमप्रोटिनको मात्रा भएमा  ।
– ज्यादातर इन्टेरोहेपाटिक रक्तसंचार हुनु ।
– कलेजो कलिलो भई कलेजोमा हुने रासायनिक प्रक्रिया कमजोर हुनु वा प्रतिक्रियाहरु प्रभावकारी नहुनु  ।
असामान्य वा प्याथोलोजिकल जण्डिस

माथि उल्लेखित सामान्यबाहेक ज्यादातर लेभलको वा अन्य असामान्य अवस्था भएको जण्डिसलाई प्याथोलोजिकल जण्डिस भनिन्छ । यस्ता अवस्था निम्नानुसार छन् ।
– पहिलो २४ घण्टाको उमेरभित्र नै देखिएको जण्डिस ।
– प्रतिघण्टा ० दशमलब ५ मिलिग्राम प्रति डेसिलिटर प्रति घण्टाभन्दा धेरै बृद्धि भएको जण्डिस ।
– बच्चा अस्वस्थ जस्तो वा असामान्य अवस्था जस्तै बान्ता भइरहने, सुस्त वा लुलो, सास फेर्न छिटो वा रोकिएको अवस्था, ज्वरो आउने, दुध चुस्न नसक्ने भएको सँगै हुने जण्डिसलाई प्याथोलोजिकल जण्डिस भनिन्छ ।
– महिना पुरा भई जन्मेको बच्चामा ८ दिनको उमेरभन्दा धेरै र महिना नपुगि जन्मेको अवस्थामा १४ दिनभन्दा बढीसम्म रहिरहेको जण्डिसलाई प्याथोलोजिकल जण्डिस भनिन्छ ।
नवजात शिशुमा जण्डिस हुने केही कारण

– आमा र बच्चाको रक्त समूहको फरक, जस्तै आमा रिसस नेगेटिभ तर बच्चा पोजिटिभ जन्मनु वा आमा ओ ग्रुपको तर बच्चा ए अथवा बी ग्रुपको हुनु ।
– रक्तकोषको बनावटको समस्या जस्तै हेरेडिटरी स्फोरोसाइटोसिस ।
– रक्तकोष नासिने हिमोलाइटिक एनेमिया, यालासेमिया ।
– इन्जाइमको कमि जस्तै ग्लुकोज ६ फोस्फेट, डिहाइड्रोजिनेज वा पाइरुभेट काइनेजको कमि, कलेजोमा इन्जाइम कमि हुने क्रिग्लर नाजार सिन्ड्रोम वा सिलवर्ट सिन्ड्रोम ।
– इन्फेक्सन वा संक्रमण जस्तै नियोनेटल सेप्सीस वा पेटभित्र हुँदा कै संक्रमण इन्ट्रायुटेराइन टर्चसग्रुपको संक्रमण ।
– कतै रगत जमेको वा बगेको छ भने जस्तै हियाटोमा ।
– पोलिसाइथेमीया वा ज्यादातर रक्तकोष भएको अवस्था ।
– दध नचुस्ने, डिहाइड्रेसन वा जल विनियोजन वा बान्ता भइरहने अवस्था वा शिशुको तौल घटेको अवस्था ।
– पित्तबाहिनी नलि बन्द भएको अवस्था वा नभएको अवस्था (विलियरी एट्रेसिया) ।
– सुरु–सुरुमा आमाको दूध खाइरहेका बच्चालाई पछि देखिने ब्रेष्ट मिल्क जण्डिस ।
जोखिमयुक्त जण्डिस

निम्न अवस्थामा विलिरुविनको मात्रा बढी हुनुका साथै मष्तिस्कमा पुग्न सक्ने जोखिम धेरै हुन्छ ।
– पहिलो २४ घण्टाभित्र देखिएको जण्डिस वा रिसस ग्रुप नमिलेको अवस्था ।
–महिना नपुगेका बच्चामा देखिएको जण्डिस ।
– ठूलो रगत जमेको सिफल हेमाटोमा ।
– पहिलेका बच्चामा देखिएको जण्डिसलाई उपचार गर्नु परेकोमा ।
– आमामा चिनीको रोग वा डायबिटिज भएकोमा ।
– अपुग मात्रामा स्तनपान भइरहेको वा दूध राम्ररी नआएकोमा ।
– यदि बच्चाको दिसा सेतो देखिएमा पनि पित्तबाहिनी नलि बन्द भएको वा विलियरी एट्रेसिया हुनसक्छ ।

कम जोखिमयुक्त जण्डिस हुने अवस्था

– महिना पुरा भई जन्मेको बच्चा र सामान्य वा राम्रो तौल भएको बच्चामा ।
– राम्ररी स्तनपान गरिरहेको बच्चा वा स्वस्थ देखिने बच्चामा ।
– विलिरुविनको मात्रा जोखिम रेखाभन्दा कम रहेको अवस्था ।
– रक्तग्रुप नमिलेको अवस्था नरहेकोमा ।
– बच्चामा संक्रमणका लक्षण नदेखिएको अवस्थामा ।
– शिशु स्वस्थ रही ७२ घण्टाको अवधि पार गरि डिस्चार्ज भएकोमा वा ७२ घण्टापछि देखा परेको जण्डिसमा
जटिलता वा कम्प्लिकेशन

नवजात शिशु विशेषगरी ६ दिनभन्दा कमको शिशुमा अन कन्जुगेटेड विलिरुविनको मात्र एक्कासी बढेमा वा जोखिम मात्राको रेखा नाघेमा, जस्तो ः स्वस्थ ३ केजीको बच्चामा ७२ घण्टामा १८–२० मिलिग्रामभन्दा ज्यादा भएमा यसप्रकारको विलिरुविनको विमाग जाने संभावना हुने र यसले विलिरुविन इन्केफ्यालोप्याथी भनिने मस्तिष्कसुजन हुन पुग्छ । जसले तात्कालिक र दीर्घकालिन असर पु¥याउनसक्छ । तात्कालिन अवस्थामा बच्चा लुलो, सुस्त हुने, चिच्याउने वा दूध चुस्न नसक्ने हुन्छ भने लामो समयसम्म उचित उपचार नपाएमा बच्चा दह्रो हुने, कम्पन आउने, सास रोकिने बेहोस हुने वा धनुष्टंकारजस्तो हुने तथा यसबाट बच्चाको ज्यानैसम्म जानपनि सक्छ । ज्यान नगएमा यो अवस्थाका बच्चा दीर्घकालमा सुस्त मनस्थिति, आँखा चम्काउने वा छारे रोग जस्तो भइरहने हुन सक्छन् ।
व्यवस्थापन

धेरैजसो नवजात शिशुलाई जण्डिस हुन्छ र सबैलाई उपचार वा व्यवस्थापन नचाहिन पनि सक्छ । जोखिमयुक्त अवस्था र नवजात शिशुको तौल, म्याचुरिटि उमेर(घण्टामा) अनि बिलिरुविन विशेषगरि अनकन्जुगेटेड विलिरुविनको मात्रा हेरी उपचार वा व्यवस्थापन फरक–फरक हुन्छ ।
नवजात शिशुमा भएको जण्डिस जोखिमयुक्त छ छैन भनेर सोधपुछ गरेर, बच्चालाई शारीरिक जाँचपछि विभिन्न टेष्ट जस्तो आमा र शिशुको रक्त समूह, शिशुको रगतमा विलिरुविनको मात्रा, संक्रमणका लागि शंका लागेमा वा आवस्यकताअनुसार विभिन्न ल्याव टेष्ट गर्ने गरिन्छ ।

जोखिमयुक्त वा बच्चाको तौल, उमेर वा अन्य अवस्था हेरि जण्डिस भएको बच्चालाई फोटोथेरापी वा विशेष प्रकारका ट्युवलाइटमा नाङ्गै राखेर गर्ने उपचार दिइन्छ । खासगरि केही औषधि जस्तै फेनोबार्विटोन वा एल्बुमिन अवस्थाअनुसार दिइन्छ भने ज्यादै उच्च लेभलको वा जोखिमयुक्त विशेषगरि रिसस नेगेटिभ ग्रुपका आमाबाट जन्मेका रिसस पोजिटिभ ग्रुपका बच्चालाई रगत नै फेर्ने (एक्सचेन्ज व्लड ट्रान्सफ्युजन) प्रक्रियाको उपचार पनि गरिन्छ । जसलाई धेरैजसो ओ नेगेटिभ रगतलाई आमा र बच्चालाई क्रस म्याच गरेर दिइन्छ । बच्चाको उमेर र अन्य अवस्था हेरी यी उपचार विधि वालरोग विशेषज्ञ वा चिकित्सकले गर्छन् ।

तसर्थ नवजात शिशुमा हुने जण्डिसको उपचार बच्चाको उमेर, म्याचुरिटि लेभल, तौल वा अन्य जोखिम हेरी फरक–फरक हुन्छ । १ किलोग्राम तौल भएको बच्चामा ८–१० मिलिग्राम प्रति डेसिलिटरमै फोटोथेरापी सुरु गरिन्छ भने ठुलो अथवा ३ केजीभन्दा बढी तौल भएको स्वस्थ बच्चालाई १५ मिलिग्राम प्रति डेसिलिटरभन्दा बढी नपुगी फोटोथेरापी सुरु गरिदैंन । मुख्यतः जोखिमको मात्रा हेरी उपचार पद्दति कस्तो गर्ने निर्णय गरिन्छ । तर, जे जस्तो खालको जण्डिस भएपनि आमाले मुख बार्नुचाहिँ पर्दैन । आमाले सामान्य सुत्केरीले खाने खाना खान मिल्छ । हामीले आमाले धेरै मुख बारेर समस्या निम्तिएको देखेका छौं, जुन आवश्यक छैन ।