ठगीमा परेका पाँच युवालाई क्षतिपूर्ति

राजविराज, २४ पुस | आप्रावासी स्रोत केन्द्रले वैदेशिक रोजगारीका क्रममा ठगिएका सप्तरीका पाँच युवालाई क्षतिपूर्ति दिलाएको छ ।

न्यायका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा सप्तरी सामुदायिक विकास केन्द्र नेपालको सक्रियतामा सो रकम फिर्ता गराउन सफल भएको केन्द्रका कार्यक्रम संयोजक रामप्रवेश मण्डलले बताउनुभयो ।

शम्भुनाथ नगरपालिका–१२ अर्नाहाका सुरेन्द्रप्रसाद साहले सोही ठाउँ बस्ने राजेशकुमार सरदार, श्रीप्रसाद सरदार, भूपेन्द्रप्रसाद सरदार, रमानन्द सरदार र सञ्जीव सरदारलाई वैदेशिक रोजगारीका लागि मलेशिया पठाइदिने भन्दै रकम ठगी गरेका थिए । साहले यहाँबाट फर्निसिङ कार्पेन्टरको कामका लागि भनेर मलेसिया पठाए पनि त्यहाँ काठ चिर्ने काममा लगाइएको पीडितले बताएका छन् ।

साहले भने अनुसार काममा नलगाएका बारे बारम्बार ताकेता गरे पनि काम परिवर्तन नगरेकाले ती युवा बाध्य भएर नेपाल फर्किएका थिए । नेपाल फर्किएपछि सुरक्षित आप्रवासनसम्बन्धी सूचना तथा परामर्श केन्द्रमा घटनाका बारेमा उनीहरुले जानकारी गराएका थिए । सोही जानकारीका आधारमा केन्द्रले निरन्तर पहल गरेर प्रत्येक पीडितलाई रु एक लाख २५ हजारका दरले रकम फिर्ता गराइएको संयोजक मण्डलले जानकारी दिनुभयो । रासस