विवादित अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाद्वारा राजीनामा

काठमाडौं, २४ पुष । मानव बेचविखनको आरोप लागेकी अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले राजीनामा दिएकी छिन् । परराष्ट्रले उनीमाथि छानविन गर्दै गर्दा राजदूत शेर्पाले राजीनामा दिएकी हुन् ।

यस अघि परराष्ट्र मन्त्रालयले राजदुत शेर्पालाई बर्खास्त गरेको समाचार आए पनि यसको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले समाचारको खण्डन गर्दै राजदूत शेर्पाका विषयमा कुनैपनि निर्णय नभएको बताउनुभएको थियो ।

राजदुत शेर्पाका सवारी चालक वाङ्छु शेर्पाले उनीमाथि आर्थिक ठगि, काम गरेर पनि तलव नदिएको आरोप लगाएका थिए । उनीमाथि  मानव बेचविखनमा संलग्न रहेको गम्भीर आरोप लागेपछि राजदुत पद धरापमा परेको थियो ।

यस्तो आरोप लागेपछि परराष्ट्रले उनीमाथि स्पष्टीकरण सोधेको थियो । उनको लिखित स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै मन्त्रालयले समिति नै गठन गरी छानबिनका लागि उनलाई नेपाल बोलाएको थियो ।

०००

यो पनि पढ्नुहोस :

वैदेशिक रोजगार कार्यालय ताहचलबाट सात विचौलिया नियन्त्रणमा

काठमाडौँ, २४ पुस । प्रहरीले वैदेशिक रोजगार कार्यालय ताहचलमा सेवाग्राहीलाई हैरानी दिने सात विचौलियालाई आज नियन्त्रणमा लिएको छ ।

श्रम स्वीकृति लिन आएका सर्वसाधारणलाई विभिन्न बहानामा दुःख दिएको भन्दै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको फलाने साँखुका २५ वर्षीय भरत तामाङ, मङ्गलटारका ३७ वर्षीय दिपु शाह र कोशीपारिका ३५ वर्षीय गणेश तामाङ रहेका छन् ।

त्यस्तै भक्तपुर बोडेका ३६ वर्षीय मनुराज न्यौपाने, मोरङको पट्यारीका २४ वर्षीय पुजन राई, बाफलका २० वर्षीय विकल शाही र २६ वर्षीय राजेश तामाङलाई पनि सेवाग्राहीलाई सास्ती दिँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो । प्रहरीले यसअघि पनि सोही कार्यालयबाट सेवाग्राहीलाई सास्ती दिँदै आएका विचौलियालाई नियन्त्रणमा लिएको थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मन्त्रालय सम्हालेलगत्तै श्रम कार्यालयललाई विचौलियामुक्त पार्ने अभियान सञ्चालन गर्नुभएको थियो । उहाँकै सक्रियतामा गृहमन्त्रालयले प्रहरीको एक युनिट श्रम कार्यालयमा खटाएको थियो ।

वैदेशिक रोजगार विभागले श्रम स्वीकृति, पुनःश्रमस्वीकृतिको प्रक्रियालाई अनलाइन र टोकन प्रणालीमा लगे पनि सेवाग्राहीले सहजै सेवा पाउन सकेका छैनन् । रासस