अमरगढीमा चौथो पटक आगलागी भएको छ

अमरगढी, २३ पुस | डडेल्धुरा सदरमुकाममा आइतबार राति भीषण आगलागी भएको छ । जिल्ला सदमुकामको अमरगढी नगरपालिका–५ मुख्य बजार बागबजारको बगरकोटमा मध्यराति १२ बजे आगलागी हुँदा नौ पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

गए रातिसहित चौथो पटक आगलागी भएपछि व्यापारी सशङ्कित भएका छन् । आगो लगाउने एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिनुभयो । पक्राउ पर्नेमा अमरगढी नगरपालिका–५ का मार्केश रावल रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाले आगो लगाएको स्वीकार गरेको प्रहरी नायब उपरीक्षक केसीले बताउनुभयो । करीब दुई घण्टापछि दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना, स्थानीयवासीको सहयोगमा आगो नियन्त्रमा लिइएको थियो । सधँैजसो आगलागीका घटना हुनु रहस्यमय भएको स्थानीय व्यापारीको भनाइ छ । उच्च सुरक्षा सतर्कता अपनाउन व्यापारीले माग गरेका छन् । रासस