विभिन्न अपराधमा संलग्न २४ देशका ७७ विदेशी देश निकाला
काठमाडौं, २२ पुस । नेपाल सरकारले वैशाखयता आठ महिनामा विभिन्न अपराधमा संलग्न ७७ विदेशीलाई देशनिकाला गरेको छ ।
लागुऔषध कारोबार, आपराधिक क्रियाकलापमा संलग्नदेखि धर्म परिवर्तन गराउँदै हिँड्ने २४ देशका ७७ नागरिक कारबाहीमा परेका हुन् ।
गृह मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार भिसाविना नै नेपाल बसेका ३४ विदेशीलाई निकालिएको छ । उनीहरूलाई कम्तीमा एकदेखि तीन वर्षसम्म नेपाल प्रवेश नपाउने गरी निकाला गरिएको छ ।
त्यस्तै, १३ विदेशी बैंकिङ कसुर गरेको अभियोगमा निकालिएका छन्। उनीहरू कम्तीमा तीन वर्षसम्म नेपाल बस्न पाउनेछैनन् ।
जाली भिसा प्रयोग गरेर बस्दै आएका १० जनालाई पाँच वर्षसम्म प्रवेशमा प्रतिबन्ध लगाउँदै निकाला गरिएको छ ।
यस्तै, लागुऔषध तथा बालयौन दुराचारमा संलग्न पाँच विदेशीलाई १० वर्षसम्म नेपाल छिर्न नपाउने गरी कारबाही गरिएको छ ।