कंशाकार भन्छन् – ‘पाँच लाख चन्दा नदिंदा मोसो दले’

काठमाडौं, २१ पुस । नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारले मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)कार्यकर्ताले आफुलाई मोसो दलेको बारेमा मुख खोलेका छन् ।

मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का कार्यकर्ताले मागेको पैसा आफूले नदिंदा शुक्रबार दिउँसो कार्यालयमा छिरेर झुक्याएर मोसो दलेको उनले बताएका छन् ।

कंशाकारले वैद्य समूहका दुई जना कार्यकर्ताले कार्यालयभित्रै मागेको पैसा दिन नसक्दा मोसो दलेको बताएका हुन् ।

‘शुक्रबार पार्टीको कार्यक्रमका लागि पाँच लाख रुपैयाँ चाहियो भन्दै दुई जना कार्यालयमै आएका थिए’, कंशाकारले घटनाबारे भने, ‘मैले पाँच लाख त हैन मेरो गोजीमा पाँच हजार छ त्यही लैजाऊ भन्दा मसी छर्किएर भागे ।’ गार्डले समाउन खोज्दा समेत उनीहरु फुत्किएको कंशाकारको भनाइ छ ।

निगमले वाइडबडी ‘ए ३००’ नामक दुई जहाज खरिद गर्दा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भ्रष्टाचार गरेको भन्दै क्रान्तिकारी माओवादी निकट युवा लिगका सदस्यले कंशाकारलाई कार्यकक्षमै पुगेर मोसो दलेका थिए ।

कंशाकारले पैसा मागेको भनेर गलत हल्ला फैलाएको क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य हरिकृष्ण गजुर बताउँछन् । ‘हामीलाई पैसासँग कुनै सरोकार छैन’, उनले भने, ‘यस्ता कुराको पछाडि लाग्नु आवश्यक छैन, किनकी यो अनावश्यक कुरा हो ।’

उनले भने, ‘आफूमाथि लागेको भ्रष्टाचारको आरोपलाई अन्यत्र मोड्नका लागि कंशाकारले हामीमाथि आरोप लगाएका मात्र हुन् ।’ क्रान्तिकारी माओवादी निकट युवा लिग नेपालका सदस्यले भ्रष्टाचारविरुद्धको अभियान अन्तर्गत कंसाकारलाई मोसो दलेको गजुरेलले बताएका छन् ।