निजी आवास निर्माण सुस्त

काठमाडौँ, २० पुस | राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निजी आवास पुनःनिर्माणलाई प्रमुख प्राथमिकता दिए पनि तारकेश्वर नगरपालिकाको पुनःनिर्माण गति भने सुस्त छ ।

नगरपालिका जम्मा २० दशमलव ५९ प्रतिशत लाभग्राहीले मात्रै घर निर्माण सकाएर तेस्रो किस्तावापतको रकम लिइसकेका छन् । नगरपालिकामा पुनःनिर्माणका जम्मा लाभग्राही सङ्ख्या ६१५१ लाभग्राही रहेकामा एक हजार ३०० लाभग्राहीको मात्रै निजी आवास निर्माण सकिएको नगर उपप्रमुख भवानी डोटेल धितालले बताउनुभयो ।

नगपालिकाको भित्री बस्तीमा थोरै क्षेत्रफल भएका घर, एकै घरमा धेरैको स्वामित्व रहेको, क्षतिग्रस्त घर भत्काउँदासँगै रहेको घरलाई समेत क्षति पुग्ने भएकाले त्यस्ता घरलाई के गर्ने भन्ने स्पष्ट नीति नभएको कारणले निजी आवास निर्माण अघि बढ्न नसकेको हो ।

नगरपालिका वरिष्ठ इञ्जिनियर शशी गुरुङका अनुसार प्रवलीकरणबाट सजिलै पुनःनिर्माणमा जान सकिए पनि पुनःनिर्माणबाट प्रवलीकरणमा जान सजिलो छैन् । ‘‘पुनःनिर्माणका लागि थप रकम सरकारले दिने अनुदान भन्दा धेरै रकम जुटाउनुपर्ने र प्रवलीकरणका बारेमा स्थानीयवासी नै प्रष्ट हुनसकेका छैनन्’’, उहाँले भन्नुभयो । नगरपालिकामा पहिलो किस्ता लिने पाँच हजार १७२ र दोस्रो किस्ता लिने लाभग्राही एक हजार तीन रहेको छ ।

प्रत्येक वडामा उद्यान बनाइने

तारकेश्वर नगरपालिकाले प्रत्येक वडामा उद्यान निर्माण गर्ने भएको छ । सार्वजनिक जग्गाको उपयोग गदै प्रत्येक वडामा एउटा उद्यान निर्माण गर्ने शुरु गरिएको नगर प्रमुख रामेश्वर बोहराले बताउनुभयो ।

नगरपालिकाको प्रत्येक वडामा रहेको सर्वजनिक स्थललाई संरक्षण गर्नका लागि यो कार्यक्रम ल्याइएको बताइएको छ । सार्वजनिक जग्गालाई सरंक्षण गर्न बारबन्देजले मात्र काम नगर्ने र निश्चत समयमा ती वस्तु हराएर जाने भएकाले त्यस्ता जग्गालाई सदुपयोग गर्दै सार्वजनिक पार्क निर्माण कार्य शुरु गरिएको हो ।

तारकेश्वर वडा नं–९ स्थित लोकतान्त्रिक चोकमा रु ५० लाखको लागतमा खड्क उद्यानको निर्माण काम शुरु भइरहेको छ भने अन्य वडामा पनि क्रमश शुरु गर्ने प्रमुख बोहोराले भन्नुभयो ।

खेर गइरहेको सार्वजनिक जग्गालाई सदुपयोग गर्दै यसरी उद्यान निर्माण गर्नाले भोलिका दिनमा यसबाट आर्थिक उपार्जन भई विकास निर्माणमा थप सहयोग पुग्ने तारकेश्वर–९ का वडाध्यक्ष बलराम सिटौलाले बताउनुभयो । रासस