न्यायिक समितिमा जग्गा विवाद धेरै

नारायणपुर, २० पुस | दाङको घोराही उपमहानगरपालिकाको न्यायिक समितिमा जग्गाको विवाद बढी देखिएका छन् । स्थापनाकालदेखि हालसम्म समितिमा १३८ वटा जग्गासम्बन्धी मुद्दा दर्ता भएको समितिका संयोजक तथा उपमहानगरपालिकाको उपप्रमुख सीता सिग्देल न्यौपानेले बताउनुभयो ।

छयालीस वटा मुद्दा मिलापत्रमा टुङ्गो लगाइएको छ भने बाँकी प्रक्रियामै रहेको संयोजक न्यौपानेले बताउनुभयो । १७ महीनाको अवधिमा ३४१ वटा विभिन्न प्रकृतिका मुद्दा छन् । १३८ वटा जग्गाका विवाद समितिमा दर्ता हुनु सङ्ख्यात्मक हिसाबले धेरै भएको संयोजक न्यौपानेले बताउनुभयो ।

‘‘घोराहीमा सबैभन्दा धेरै जग्गा विवाद बढी आउने गरेका छन्, घरकै दाइभाइबीचमा पनि जग्गाविवादको समस्यादेखि छिमेकी र किनबेचमा समेत विवाद देखिन्छ’’ संयोजक न्यौपानेले बताउनुभयो । जग्गाका कूल मुद्दामध्ये अहिलेसम्म ४६ वटा मुद्दा मात्रै टङ्गो लागेको समितिले तथ्याङ्क दिएको छ । बाँकी मुद्दा प्रक्रियामा रहेका छन् ।

दाजुभाइबीच अंश मुद्दा, छिमेकीबीचमा कुलो तथा सिमाना साँधमा कुरा नमिल्दा उत्पन्न भएको समस्या, अन्जान व्यक्ति तथा विचौलियाको भरमा जग्गा खरीद बिक्री गर्दा अप्ठ्यारो भएपछि समितिमा मुद्दा दर्ता हुने गरेको छ । यस्ता मुद्दा टुङ्गो लगाउनसमेत समस्या हुने गरेको संयोजक न्यौपानेले बताउनुभयो ।

न्यायिक समितिले बितेको १७ महीनामा झण्डै १५० मुद्दा मेलमिलापमा टुङ्गो लगाएको छ । दर्ता भएको ३४१ वटा विभिन्न प्रकृतिका कूल मुद्दामध्ये १४२ वटा मुद्दा मिलापत्र गरेर टुङ्गो लगाएको छ । घरेलु हिंसामा ५५ मुद्दामध्ये २४ वटा टुुङ्गिएको छ भने समितिमा घरभाडा, लिखत बदर, गाली बेइज्जती, वातावरण प्रदूषणदेखि, कुटपिट, कुलो पानीलगायतका विवाद पनि आएका छन् । रासस