उपाध्यक्ष नेपाली पक्राउ

कास्की, २४ चैत । नेत्रविक्रम चन्द नेतृत्व समूह निकट अखिल (क्रान्तिकारी) कास्कीका एक नेत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

क्रान्तिकारी विद्यार्थी सङ्गठनका जिल्ला उपाध्यक्ष आस्था नेपालीलाई आज बिहान प्रहरीले पोखरा–११ फूलबारीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिनुभयो ।

स्याङ्जा स्थायी ठेगाना भएका विद्यार्थी नेत्री नेपाली हाल फूलबारीमा बस्दै आउनुभएको थियो । प्रहरीले गत हप्ता सोही विद्यार्थी सङ्गठनका पृथ्वीनारायण क्याम्पस एकाइका अध्यक्ष प्रकाश बाँस्तोला र जिल्ला सदस्य उज्जवल पुनलाई पक्राउ गरेको थियो । यसअघि उक्त समूहका प्रदेश संयोजक किसानसिंह गुरुङ र कास्की प्रमुख रामकाजी गुरुङलाई प्रहरीले पक्राउ गरिसकेको थियो । -रासस