छात्रामैत्री शौचालय अभाव

सिञ्जा, २४ चैत । आधारभूत कक्षामा छात्रामैत्री शौचालय नहुँदा समस्या हुने गरेको छ । कनकासुन्दरी गाउँपालिका–२ मालिकास्थित नवप्रभात आधारभूत विद्यालयमा महिलामैत्री शौचालय नहुँदा समस्या हुने गरेको शिक्षक प्रेम रावतले बताउनुभयो ।

विद्यालयमा अरु भौतिक पूर्वाधार भए पनि छात्राका लागि छुट्टै शौचालय नहुँदा शौच गर्नेदेखि महिनावारी भएको बेला प्याड प्रयोग गर्नमा ठूलो कठिनाइ हुने गरेको बालविकास सहजकर्ता गीताकुमारी सिंहले बताउनुभयो । अहिले विद्यालयका शिक्षकशिक्षिका तथा छात्रछात्राले एउटै शौचालय प्रयोग गर्दै आएका छन् ।

विद्यालयमा खानेपानी, बेञ्च, डेस्क, बालबालिकालाई खेल्ने बालविकासका सामग्री र कोठामा बिच्छ्याइने गलैँचा कुनै कम नभएको विद्यालयले जनाएको छ । विसं २०७३ ÷७४ मा विद्यालयको घेरबारको राम्रो व्यवस्था गरिए पनि हाल दुई ठाउँमा जीर्ण बन्दै गएको शिक्षक गणेशबहादुर रोकायाले बताउनुभयो । विसं २०३८ मा स्थापित विद्यालयले घेरबारको व्यवस्था नहुँदासम्म विद्यालयले पटक पटक क्षति मोल्दै आए पनि अहिले क्षतिबाट जोगिएको रोकायाले जानकारी दिनुभयो ।

विद्यालय खोलाको नजीकै भएकाले साउनदेखि असोजको अन्तिमसम्ममा खोलाको बहाव बढ्ने भएकाले डर हुने भए पनि अरु बेला खासै डर नहुने गरेको शिक्षक रोकायाको भनाइ थियो । विद्यालयमा यस वर्ष पाठ्यपुस्तक समयमै विद्यार्थीको हातहातमा पुगेकाले पढ्न र पढाउनमा कुनै बाधा नभएको रोकायाले जानकारी दिनुभयो ।

हाल विद्यालयमा कक्षा १ देखि ५ सम्म पढाइ हुँदै आएको छ । विसं २०५८ देखि बालविकास पनि पढाइ हुँदै आएको विद्यालयले जनाएको छ । बालविकासमा १७ नानीबाबु पढ्दै आएको बालविकास सहजकर्ता सिंहले बताउनुभयो । अहिले विद्यालयमा ५८ छात्रा र २२ छात्र रहेको विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद आचार्यले बताउनुभयो । सबैभन्दा बढी दलित छात्रछात्रा छन् । रासस