गाउँमै कम्प्युटरमा कखरा

–रवीन्द्र काफ्ले

फिदिम, २४ चैत । एघार वर्षीय गिदोन विश्वकर्मा कक्षा ५ उत्तीर्ण भएको छ । अब उनलाई विद्यालय परिवर्तन गर्नुपर्ने वाध्यता छ । “अन्त हाम्रो विद्यालयमा जस्तो कम्प्युटर चलाउन पाइदैन््” नतिजा प्रकाशन भएका दिन विद्यालय छोड्नु पर्दा दुःख व्यक्त गर्दै उनले भने “अन्य विद्यालयमा कम्प्युटर भए पनि सरहरुले चलाउन दिनुहुन्न रे” । उनको घरमा ल्यापटप पनि छ । तर, उनलाई विद्यालयमा सिकेजस्तो रमाइलो घरमा हुँदैन ।

गत वर्षबाट उनले विद्यालयमा कम्प्युटर चलाउन सिकेका हुन् । “स्कुलमा चलाउनुभन्दा पहिले कम्प्युटरबारे मलाई केही थाहा थिएन्” विश्वकर्माले भने “अहिले कम्प्युटरमा धेरै काम गर्न सक्छु । तर, इन्टरनेट नहुँदा पढाइका कुरा केही भेट्न सकेनौँ ।” गिदोनलाई दाइ दीपेन्द्रले ल्यापटप र साइकलमध्ये एउटा रोज्न आग्रह गर्दैै आफू विदेशबाट फर्कदाँ रोजेको सामग्री ल्याइदिने बताएका थिए । गिदोनले ल्यापटप रोजे । अन्ततः गाउँमै उनीसँग ल्यापटप पनि भयो, विद्यालयमा कम्प्युटर ।

गिदोनसँगै पढ्ने कक्षा ५ मा प्रथम भएकी हिल्सा मैनाली कम्प्युटर चलाउन जान्ने भइसकेकी छिन् । “टाइपिङ गर्छु, गेम खेल्छु, चित्र बनाउँछु” हिल्साले भनिन् “प्रिन्ट गर्न पनि जान्दछु ।”

शहरमा बच्चा कम्प्युटरका पार्टपूर्जा खेलाएर हुर्किन्छन् । गाउँमा कम्प्युटर भनेको सुन्नु बाहेक अरु केही हुँदैन् । तर, पाँचथरको हिलिहाङ गाउँपालिका–५ सुभाङको गौश्वारामा रहेको भाग्योदय आधारभूत विद्यालयका विद्यार्थी भने कम्प्युटर चलाउन जान्ने भइसकेका छन् ।

सदरमुकाम फिदिमबाट २४ किलोमिटर उत्तरमा रहेको ग्रामीण क्षेत्रको यस विद्यालयमा सात थान कम्प्युटर रहेका छन् । विद्यार्थी स्वयं कम्प्युटर खोल्न र बन्द गर्न जान्ने भइसकेका छन् । कक्षा ५ सम्म पुग्दा उनीहरु नेपाली र अङ्ग्रेजी भाषामा टाइपिङ गर्न, चित्र बनाउन, प्रिन्ट गर्न सक्षम छन् । कम्प्युटर चलाउन सक्षम भइसकेका गिदोन र हिल्सालगायत विद्यार्थी कक्षा ६ बाट नजिकैको जोरपोखरी माध्यमिक विद्यालयमा अध्ययन गर्न जान लागेका छन् । त्यहाँ कम्प्युटर चलाउन नपाइने भएपछि उनीहरु निराश छन् ।

कक्षा ४ मा पढ्ने मुस्कान सुहाङ कम्प्युटरमा आफ्नो बारेमा अङ्ग्रेजीमा टाइपिङ गरिरहेका थिए । “सबै त आउँदैन् । सर, मिसहरुले सिकाएअनुसार टाइप गर्न, चित्र बनाउन, गेम खेल्न जान्दुछ” उनले भने । विभिन्न मुलुकमा रोजगारीमा रहेका हिलिहाङ गाउँपालिका घर भएका युवाले यस विद्यालयमा सात थान कम्प्युटरको व्यवस्था गरिदिएका छन् । यिनै कम्प्युटरमा यहाँका विद्यार्थीले शिक्षकले पढाएअनुसारको ज्ञान, सीप सिकिरहेका छन् ।

तर, शिक्षक नै दक्ष छैनन्

शिक्षिका निर्मलाले आफूहरुले जानेअनुसार विद्यार्थीलाई सिकाउँदै आएको बताउनुहुन्छ । “हामी पनि सबै कुरा जान्दैनौँ । कम्प्युटरको विषयको शिक्षक व्यवस्था गर्न सके वा हामीमध्ये कोही शिक्षक कम्प्युटरमा दक्ष हुनसके विद्यार्थीलाई धेरै कुरा सिकाउन सकिन्थ्यो” उहाँले भन्नुभयो, “कम्प्युटरको पनि सदुपयोग हुन्थ्यो ।” शिक्षकले प्रत्येक दिन विद्यालयको सातौँ कक्षामा विद्यार्थीलाई कम्प्युटर चलाउन सिकाउने गरेका छन् । “कक्षा ३ देखि ५ सम्मका विद्यार्थीलाई टिफिनमा पनि सिकाउँदै आएका छौँ” उहाँले भन्नुभयो ।

प्रधानाध्यापक वीरेन सुहाङ दाताले दिएका कम्प्युटरबाट विद्यार्थीलाई सोचेअनुसार ज्ञान, सीप सिकाउन नसकेकामा दुःखी हुनुहुन्छ । “अरु विद्यालयले कम्प्युटरबारे सुगा रटाई रटाउँछन् । हामीले प्रयोगात्मक रुपमा यसका पाट्र्स तथा केही प्रोग्रामबारे जानकारीसम्म दिन सकेका छौँ” प्रधानाध्यापक सुहाङले भन्नुभयो, “हाम्रै युवा साथीको रगतपसिनाबाट जोडिएका कम्प्युटरबाट सोचेअनुसारको ज्ञान, सीप सिकाउने हाम्रो लक्ष्य हो ।

समस्या सुन्ने कोही भएन

दुई वर्षअघि विद्यालयलाई कम्प्युटर हस्तान्तरण गर्ने कार्यक्रममा तत्कालीन जिल्ला शिक्षा अधिकारी राजकुमार विश्वकर्माले कम्प्युटर विषयको शिक्षकको व्यवस्था गर्न आफूले सक्दो पहल गर्ने बचन दिनुभएको थियो । तर, हालसम्म विद्यालयमा कम्प्युटर विषयको शिक्षक नहुँदा आफूहरु समस्यामा परेको प्रअ सुहाङको भनाइ छ । जिल्ला शिक्षा कार्यालयसँग रहेको आशा अब हिलिहाङ गाउँपालिकामा स¥यो । तर, गाउँपालिका सडक निर्माण गर्नेमै केन्द्रीत भएको अभिभावकले गुनासो पोख्छन् ।

“हामीसँग कम्प्युटर छन् । यिनको सदुपयोगका लागि सहयोग गरिदिनु प¥यो भने हिलिहाङ गाउँपालिकादेखि शिक्षा विकास तथा समन्वय इकाइसम्म धायौँ” प्रअ सुहाङले भन्नुभयो, “तर, कतैबाट सहयोग प्राप्त भएको छैन् ।” अव भने शिक्षकमध्ये एकजना केही समय विद्यालय बाहिर रहेर भए पनि कम्प्युटरसम्बन्धी कक्षा लिई विद्यार्थीलाई सिकाउने तयारी गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद मैनाली कम्प्युटर विषयको शिक्षक राख्न विद्यालय स्वयमं सक्षम नरहेको बताउनुहुन्छ ।

“हाम्रो स्रोतले मात्रै शिक्षक राख्न सकिएन्” मैनालीले भन्नुभया,े “सीमित स्रोतसाधन भएको विद्यालयले नियमित तलब दिएर शिक्षक राख्न सक्ने कुरै भएन् ।” अभिभावक एवं विद्यालय संस्थापक लक्ष्मीप्रसाद सुहाङ विद्यालयको कमजोर आर्थिक अवस्थाका कारण कम्प्युटरको उचित सदुपयोग हुन नसकेका बताउनुहुन्छ । वडा सदस्य महेन्द्र सुहाङ एउटा आधारभूत विद्यालयमा यति ठूलो परिमाणमा कम्प्युटरलगायत सामग्री हुनु सुखद् भए पनि तिनको सदुपयोगका लागि सबैको प्रयत्न आवश्यक रहेका औँल्याउनुभयो ।

हिलिहाङ गाउँपालिका घर भई दक्षिण कोरियासहित विभिन्न मुलुकमा रोजगारीमा गएका २९ युवाहरुले दई वर्षअघि रु तीन लाख ३० हजार लागतमा सात थान कम्प्युटर, सातै थान कम्प्युटर टेबल, एक÷एक थान प्रिन्टर, फोटोकपी मेसिन र स्पटेपलाइजर विद्यालयलाई प्रदान गरेको थियो ।