अश्लिल यौन हर्कत हुने गरेको भन्दै प्रशासनद्वारा कार्यक्रममा रोक, एक सय बढी देशका एक हजारभन्दा बढी नागरिक अलपत्र !

धनकुटा २३ चैत । खुल्ला यौन व्यवहारलगायतका अनैतिक गतिविधि हुने गरेको भन्दै स्थानीय प्रशासनले एक अन्तर्राष्ट्रिय कार्यक्रममा रोक लगाएपछि एक सय भन्दा बढी देशका नागरिकहरु अलपत्र परेका छन् ।

संखुवासभा प्रशासनले कार्यक्रम सञ्चालनमा रोक लगाएपछि एकसय बढी देशका करिब एक हजार दुई सय नागरिक सुनसरी, धनकुटा र तेह्रथुममा अलपत्र परेका हुन् ।

उनीहरु अन्तर्राष्ट्रिय सांस्कृतिक महोत्सवका लागि गुराँसको राजधानी तीनजुरे, मिल्के, जलजले र टीएमजे हिडेका थिए ।

काठमाण्डौंको शक्तिपिक म्यूजिक फेस्टिवल प्रालिले संखुवासभाको मादी नगरपालिका स्थित चौकी डाँडाँमा चैत्र २२ गते देखि २७ गते सम्म आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय सांस्कृतिक महोत्सवमा लागुपदार्थको प्रयोग, अश्लिल गतिविधि र खुल्ला यौन व्यहार हुने गरेको भन्दै स्थानीय प्रशासनले रोक लगाएको हो ।

 

प्रशासनको प्रतिबन्ध पछि उक्त कार्यक्रमका लागि हिडेका एकहजार दुइसय बढी विदेशी नागरिक धरान, भेडेटार, मुलघाट, धनकुटा, हिले, सिंधुवा र बसन्तपुरका विभिन्न होटलमा तथा खाली ठाउँमा टेन्ट टाँगेर बसेको कार्यक्रम संयोजक सुवास केसीले जानकारी दिनुभयो ।

स्थानीय तहको स्वीकृति पछि कार्यक्रम गर्न लागिएको आयोजक पक्षको दावी छ ।