बालबालिकालाई शैक्षिक सामग्री वितरण

खस्यौली, २२ चैत । जनता बैंक मुर्गियाले आज विपन्न समुदायका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ ।

बैंकको १०औँ वार्षिकोत्सवको अवसरमा सैनामैना नगरपालिका–२ स्थित उचडीहवामा रहेको कालिका आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कापी, पेन्सील लगायतका शैक्षिक सामग्री प्रदेशसभा सदस्य कमला विश्वकर्माले वितरण गर्नुभयो । सो अवसरमा बोल्दै प्रदेशसभा सदस्य विश्वकर्माले वित्तीय साक्षरताका साथसाथै बैंकले सामाजिक काम समेत शुरु गरेकामा प्रशंसा गर्दै विपन्न परिवार शैक्षिक सामग्रीको अभावले वञ्चित हुनुनपर्ने बताउनुभयो ।

बैंकका प्रबन्धक पदम पोखरेलले बैंकलाई वित्तीय साक्षरतासँगै सामाजिक काममा समेत सक्रिय गराउन खोजेको बताउनुभयो ।

खेल मैदान बनाउन संसदीय कोषले सहयोग गर्ने

रुपन्देहीको सैनामैना नगरपालिका–७ लम्टियामा रहेको खेल मैदानलाई थप व्यवस्थित बनाउन संसदीय कोषबाट सहयोग गरिने भएको छ । स्टार स्पोर्टस् क्लबको आयोजनामा आजबाट शुरु भएको सैनामैना प्रिमियर लिगको उद्घाटन गर्दै सङ्घीय संसद्को सार्वजनिक लेखासमितिका सभापति तथा नेपाली काङ्ग्रेसका नेता भरतकुमार शाहले त्यसका लागि आफूले पहल थाल्ने जानकारी दिनुभयो । उहाँले खेलकूदको माध्यमबाट खेलाडीको प्रतिभा प्रस्फुटन हुनुका यस्ता लिगले खेलाडीमा प्रोत्साहन मिल्ने समेत बताउनुभयो ।

काङ्ग्रेस जिल्ला उपसभापति फणिन्द्रप्रसाद शर्माले समृद्धिको आधार अध्ययन मात्र नभइ सामाजिक क्षेत्रको विकास लागि खेलकूद अपरिहार्य भएकोे बताउनुभयो । क्रिकेट सङ्घका अध्यक्ष प्रशान्त मल्लले रुपन्देहीको सैनामैना खेलकूदको हिसाबले उर्वराभूमि भएकाले यसको विकासका लागि स्थानीय तहको चासो बढी हुनुपर्ने बताउनुभयो । उक्त लिग १० दिनसम्म सञ्चालन हुने छ रासस