शाक्यको शालिक अनावरण

ललितपुर, २२ चैत । ललितपुर महानगरपालिका परिसरको मेट्रोपार्कमा पण्डित हेमराज शाक्यको शालिक अनावरण गरिएको छ । महानगरपालिकाले उक्त शालिक आज अनावरण गरेको हो ।

बौद्धधर्म, संस्कृति, कला पुरातत्वलगायत नेपाली भाषा एवं लिपीको क्षेत्रमा महत्वपूर्ण योगदान गरेबापत शाक्यको योगदानको कदरस्वरुप शालिक अनावरण गरिएको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिनुभयो । शाक्यको अर्धकदको शालिक कलाकार प्रकाश शाक्यले निर्माण गर्नुभएको हो ।

उक्त ठाउँमा नेपाल भाषाका पत्रकार धर्मादत्त धर्माचार्यको शालिक यसअघिनै अनावरण गरिएको थियो । विसं २०६६ घोडेजात्राको दिन ८४ वर्षको उमेरमा शाक्यको निधन भएको थियो । “शाक्यले नेवारी लिपी एवं कला संरक्षणका लागि ७२ पुस्तक रचना गर्नुभएको छ”, महर्जनले भन्नुभयो, “उहाँले कला र संस्कृतिको क्षेत्रमा गरेको योगदानको कदरस्वरुप शालिक स्थापना हौँ ।”

कलाकारको संरक्षण गर्नु महानगरपालिकाको दायित्व भएको उपप्रमुख गीता सत्याल बताउनुहुन्छ । “महानगरले स्थापना गर्ने मेट्रो पुस्तकालयमा शाक्यले रचना गरेका पुस्तक राख्ने योजना छ”, उहाँले भन्नुभयो । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले महानगरले शाक्यको शालिक राख्नु व्यक्तिको मात्रै सम्मान नभई सम्पूर्ण कला, साहित्य र संस्कृतिमा योगदान पु¥याउनेको सम्मान भएको बताउनुभयो ।

“यस्तो सम्मानले नयाँ पुस्तालाई प्रेरणा मिल्ने छ”, उहाँले भन्नुभयो । पण्डित शाक्यका छोरा सुरेन्द्रले भाषा र संस्कृति प्रवद्र्धनका लागि योगदान पु¥याउने व्यक्तिको सम्मान गर्दै शालिक राखेर महानगरले प्रशंसनीय काम गरेको बताउनुभयो । प्राध्यापक प्रेमशान्ति तुलाधरले नेपाल भाषा र संस्कृतिको उत्थानका लागि पण्डित शाक्यको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । “बौद्धधर्म, संस्कृति, भाषा, कला र लिपीलाई प्रचारप्रसार गर्न शाक्यले आफूपछिका पुस्तालाई प्रेरित गर्नुभएको छ”, उहाँले भन्नुभयो ।