परिपत्र फिर्ताको माग

काठमाडौँ, २२ चैत। नेपाल कम्युनिष्ट पार्टी (माले) ले गृह मन्त्रालयले जन्मका आधारमा नागरिकता लिनेका सन्तानलाई वंशजको नागरिकता दिने भन्ने परिपत्र ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पठाएकोप्रति आपत्ति जनाएको छ ।

पार्टीका महासचिव सिपी मैनालीले जारी गर्नुभएको विज्ञप्तिमा संसद्मा विचाराधीन रहेको विधेयकमा प्रभावपर्ने गरी मन्त्रालयले जारी गरेको परिपत्र राष्ट्रियता विरुद्ध रहेकाले अविलम्ब फिर्ता गर्न माग गरिएको छ । विज्ञप्तिमा ठूलो सङ्ख्यामा जन्मसिद्ध नागरिकता लिएका गैर नेपाली देशमा स्थायी बसोवास नभएका बालिग सन्तानलाई समेत वंशजका आधारमा नागरिकता प्रदान गर्नुपर्ने हुँदा मुलुकको राष्ट्रियताको हितमा नरहेको जनाइएको छ ।

गत साउन २३ गते सङ्घीय संसद्मा सरकारले दर्ता गराएको विसं २०६३ को नागरिकता ऐनलाई संशोधन गर्ने विधेयक–२०७५ अहिले बिचाराधीन अवस्थामा छ । विज्ञप्तिाम तत्काल ‘अधिकार सम्पन्न उच्चस्तरीय न्यायिक छानबिन आयोग’ गठन गरी जन्मसिद्ध नागरिकताको निरुपण गर्न जोडदार माग गरिएको छ । रासस