रोटरी क्लबद्वारा सार्वजनिक शौचालय निर्माण

पूर्वपश्चिम राजमार्गको रत्ननगर नगरपालिका खण्डमा पर्ने टिकौलीमा सुविधासम्पन्न सार्वजनिक शौचालय निर्माण गरिएको छ । रोटरी क्लब अफ रत्ननगरले करीब रु ५५ लाखको लागतमा शौचालय निर्माण गरेको हो ।

भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाको सीमामा पर्ने टिकौली जङ्गलको पूर्वी भागमा शौचालय निर्माण गरिएको हो । शौचालय निर्माणपछि राजमार्गमा यात्रा गर्ने निजी, सार्वजनिक तथा पर्यटकीय सवारीसाधनलाई सहज हुने भएको छ । यसअघि यात्रुले निकुञ्जसँग सीमा जोडिएको टिकौली वनमा शौच गर्नुपर्ने बाध्यता थियो ।

वन्यजन्तु आवतजावत गर्ने उक्त जैविकमार्गमा शौच गर्दा मानव र वन्यजन्तु दुवै प्रभावित हँुदै आएका थिए । चितवन राष्ट्रिय निकुञ्जले टिकौली वन क्षेत्रमा सिसी क्यामेरा जडान गरी सवारी रोक्न बन्देज लगाएको छ । क्लबका अध्यक्ष जनक पौडेलले सरकारी, गैरसरकारी र निजी क्षेत्रका विभिन्न दाताबाट सहयोग रकम सङ्कलन गरी शौचालय निर्माण गरिएको बताउनुभयो । रासस