असल बुहारी सम्मानित

बगनासकाली गाउँपालिका–८ बराङ्दी क्षेत्रभित्रका चार असल बुहारीलाई सम्मान गरिएको छ । सासूबुहारीको सम्बन्ध सुमधुर रहेको र अभिभावकको राम्रो हेरचार गर्ने बुहारीलाई असल बुहारीका रुपमा नगद, प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको हो । घरपरिवारको सम्बन्ध राम्रो बनाउने उद्देश्यका साथ बुहारीलाई सम्मान गरिएको हो ।

वडाको आव २०७५÷७६ को नीति, बजेट तथा कार्यक्रमका आधारमा बुहारीलाई सम्मान गरिएको वडाध्यक्ष गणेश बस्यालले बताउनुभयो । बुहारी सम्मानले समाजमा अभिभावकले सधैँ माया र हेरचार पाउने उहाँले बताउनुभयो ।

वडाले १२ ज्येष्ठ नागरिकलाई पनि सम्मान गरेको छ । ज्येष्ठ नागरिकलाई नगद, प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको वडासचिव नारायणप्रसाद आचार्यले बताउनुभयो । उहाँले आगामी दिनमा पनि असल काम गर्ने बुहारीलाई सम्मान गरिने कार्यक्रम रहेको बताउनुभयो । रासस