पूर्वाधार निर्माणमा ढिलासुस्ती नहोस्: शहरीमन्त्री

बाँके, १९ चैत । नेपालगञ्जमा रहेको भेरी अञ्चल अस्पतालको स्तरोन्नतिसँगै पूर्वाधार निर्माणका कामले गति लिन थालेको छ ।

अस्पताल हाताभित्र ‘इन्डोर ब्लक’ को निर्माण शुरु भएको छ भने नर्सिङ आवास निर्माणको काम सकिएको छ । रु ३२ करोड ३१ लाख तीन हजार ७९३ लागतमा निर्माण हुने इन्डोर ब्लकको शिलान्यास र रु ६९ लाख ३१ हजार ६५५ लागतमा निर्माण सकिएको नर्सिङ आवास भवनको आज शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले उद्घाटन गर्नुभएको छ ।

मन्त्री राईले इन्डोर ब्लक निर्माण शुरु भइसकेकाले अस्पतालमा आउने बिरामीले पूर्वाधार अभावमा सेवाबाट प्रभावित हुन नपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य मन्त्रालयले अस्पतालको पूर्वाधार विकासमा प्राथमिकतामा राखेपछि शहरी विकास मन्त्रालयले कार्यान्वयनलाई तीव्रता दिनेछ ।” मन्त्री राईले भेरी अस्पताललाई प्रदेशकै नमूना अस्पतालका रुपमा विकास गरिने बताउनुभयो । अस्पतालको पूर्वाधार विकासमा सङ्घीय सरकारले कुनै कसर बाँकी नराख्ने बताउँदै उहाँले भन्नुभयो, “पूर्वाधार निर्माणमा ढिलासुस्ती नहोस् ।

समयमै काम सक्न निर्माण कम्पनीले ध्यान दिनुपर्छ । विशेषज्ञ सेवा प्रदान गर्न सङ्घीय सरकार प्रतिबद्ध छ ।” हाल १५० शै्यया रहेको अस्पतालमा बिरामीको चापअनुसार इन्डोर ब्लकको आवश्यकता देखिएपछि निर्माण शुरु भएको भन्दै अस्पतालका निमित्त मेडिकल सुपेरिटेन्डेन्ट डा राजन पाण्डेले खुशी व्यक्त गर्नुभयो । रासस