डोटेली राजाको दरबार उत्खनन शुरु

डोटी, १९ चैत। दिपायल सिलगढी नगरपालिका वडा नं २ र ३ मा रहेको डोटेली राजाको दरबार पुनःनिर्माणका लागि आजदेखि उत्खनन शुुरु गरिएको छ ।

नेपालमा बाइसे चौबीसे राज्य भएका समयमा बलियो राज्यका रुपमा पहिचान बनाएको डोटेली दरबारको पुनःनिर्माणका लागि उत्खनन गरिएको हो । ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले महत्व बोकेको डोटेली राजाको दर्बार पछिल्लो समय भग्नावशेष अवस्थामा रहेकाले पुःन निर्माण अगाडि बढाइएको दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ऐतिहासिक दरबार खण्डहर र भग्नावशेष भएकाले पुरानै शैलीमा बनाई सङ्ग्रहालय बनाउने हेतुले उत्खनन गरेका हौँ ।” नगरपालिका र पुरातत्व विभागको सहकार्यमा उत्खनन गरिएको हो । विभागको प्राविधिक टोलीले उत्खननको निरीक्षण गरिरहेको छ । बाइसे चौबीसे राज्यका पालामा डोटेली राजा बस्नका लागि मासको गारोले निर्माण गरिएको उक्त ‘कोट’ संरक्षण सम्बद्र्धनको अभावमा भग्नावशेष अवस्थामा थियो ।

नेपालको राष्ट्रियस्तरको सम्पदाका रुपमा सूचीकृत उक्त दरबारको स्तरोन्नति गरी सुदूरपश्चिम प्रदेशकै ऐतिहासिक सङ्ग्रहालयका रुपमा स्थापित गर्ने उद्देश्यले दरबारको संरक्षण तथा सम्वद्धर्न गर्न लागिएको बताइएको छ । दरबार झण्डै १५ औंँ शताब्दीतिर निर्माण भएको हुन सक्ने अनुमान गरिएको छ । उक्त स्थानमा दरबार र भैरव मन्दिरको भग्नावशेष छ ।

दरबार क्षेत्रको जमीन भित्रभित्रैबाट सेती नदीमा नुहाउन जाने गुफासमेत छ । डोटी गौँडाको केन्द्र र पछि क्षेत्रीय सदरमुकाम रहेको दिपायलको छेवैमा अग्लो डाँडामा उक्त दरबार अवस्थित छ । दरबार भएको स्थानबाट दिपायल बजार, पिपल्ला बजार, दूधेश्वर, दिल्पेश्वर मठ, वसुधारा जस्ता क्षेत्रको दृष्यावलोकन गर्न सकिन्छ । दरबारमा ११ फिटभन्दा लामो ढुङ्गाको प्रयोग गरी आकर्षक डिजाइनमा निर्माण गरिएको पर्खालको भग्नावशेष अझै छ । दरबारमा प्रयोग भएका ढुङ्गा, काठ र छानामा प्रयोग भएका स्लेट सबै चोरी भइसकेको स्थानीयवासी बताउँछन् । संरक्षण नहुँदा उक्त दरबार क्षेत्र अहिले कहालिलाग्दो अवस्था छ ।

दरबारको स्थलगत अवलोकनबाट प्राप्त यथार्थ तथ्य र नगरपालिकाले गरिरहेको पहलबारे तत्काल विभागमा प्रतिवेदन पेश गरी थप काम अगाडि बढाइएकोे विभागका अधिकृत विष्णु पाठकले बताउनुभयो । तत्कालका लागि नगरपालिकाले छुट्याएको रु १५ लाख बजेटका आधारमा दरवारको भग्नावशेषावस्थालाई उत्खनन गरी बाँकी संरचना निर्माणको काम अगाडि बढाइने विभागका सब इञ्जिनीयर गोविन्द अधिकारीले जानकारी दिनुभयो । रासस