बुवाको उपचारका लागी हिंडेकी विमान कम्पनीकी मालिक, रुसकी चौथो धनी महिला र आइरल लेडीको रुपमा परिचित नतालियाको विमान दुर्घटनामा मृत्यु !

मस्को, १९ चैत्र । रुसी उड्डयन उद्योगमा आइरन लेडीको नामले चर्चित नतालिया फिलेवाको विमान दुर्घटनामा मृत्यु भएको छ ।

दक्षिण–पश्चिम जर्मनीस्थित एजेलबाश शहर नजिकै भएको बिमान दुर्घटनामा उनको मृत्यु भएको हो ।

६ सिटे विमानमा पाइलटबाहेक ५५ वर्षकी नतालिया र उनका पिता थिए । विमानमा सवार तीनैजनाको मृत्यु भएको साइबेरियन टाइम्सले जनाएको छ ।

नतालिया र उनका श्रीमान् भ्लादिस्लाव फिलेवा एससेभेन एयरलाइन्सका सह–मालिक थिए । नतालियाको सम्पत्ति ६० करोड डलर थियो । उनका चार सन्तान छन् । यीमध्ये एक धर्मपुत्री पनि छिन् ।

रुसी नागरिक उड्डयन क्षेत्रमा यात्रीको सुविधा र सुरक्षा बढाउने विषयमा केन्द्रित नतालियालाई आइरन लेडी भनिन्थ्यो । नतालिया बुवाको उपचारका लागि फ्रान्सबाट जर्मन जाँदै थिइन् । त्यति नै बेला दुर्घटना भएको थियो ।

जर्मन अधिकारीका अनुसार चालकले विमान घुमाउन कोसिस गर्दा नियन्त्रण गुमाएपछि दुर्घटना भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको छ । विमान दुर्घटनापछि घटनास्थलमा जाँदै गरेको पुलिसको एउटा कार पनि दुर्घटनाग्रस्त भएको छ । यसमा दुईजनाको ज्यान गएको छ ।