सामान्य हावाहुरी र पनिले नै भत्कायो निर्माधीन रेल्वेको नाला !

विराटनगर, १९ चैत्र । विराटनगरमा निर्माणधिन रेल्वे परियोजनाको नाला सामान्य हावा पानीले नै भत्किएको छ ।

भारतको बथनाहादेखि विराटनगर हुँदै कटहरीसम्म जोड्ने निर्माधीन रेल्वे परियोजनामा निर्माण गरिएको ढल निकास नाला सामान्य हावा पानी आउँदा भत्किएको हो ।

निर्माणधीन रेल्वे परियोजनाको लिकमा भारत बथनाहादेखि बिराटनगर कस्टम यार्डसम्म रेलको इञ्जिन परीक्षण गरिएको थियो । नेपाल तर्फ इञ्जिन परीक्षण गरिएको क्षेत्रमा करिब एक सय ८० मिटर ढल नाला भासिएको छ । रेल्वे परियोजनाको निर्माण भारतीय कम्पनी इरकोणले गरिरहेको छ । इरकोणबाट पेटी ठेकेदारले पनि काम पाएका छन् ।

काम चलिरहेका बेला शनिवार राति आएको असिना पानीले लिकको बीचमा निर्माण गरिएको नाला भत्किएको इरकोनका कर्मचारी संजीवकुमार देवले बताए । उनका अनुसार निर्माण भएको ६५० मिटर नालामध्ये करिब १८० मिटर नाला धसिएको हो ।