निःशुल्क स्वास्थ्य शिविरमा ९९६ को उपचार

बारपाक सुलिकोट गाउँपालिका–३ स्वाँरामा भएको दुईदिने निःशुल्क स्वास्थ्य शिविरमा ९९६ ले स्वास्थ्य उपचार गराएका छन् ।

आइतबार र सोमबार भएको शिविरमा स्वाँरा र सौरपानीका क्षेत्रका स्थानीयवासीले स्वास्थ्य सेवा लिएको माँझथर माध्यामिक विद्यालयका शिक्षिका सलिना गुरुङले जानकारी दिनुभयो । शिविरमा हाडजोर्नी तथा नशारोगको उपचार, महिला तथा प्रसूति रोगको उपचार, सामान्य चिकित्सा तथा बालरोगसम्बन्धी उपचार सेवा प्रदान गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै सामान्य घाउ खटिरा चिरफार तथा परिवार नियोजनसम्बन्धी सेवा र सल्लाह, आयुसिडी तथा इम्प्लान्ट सेवासहित विशेष परामर्श सेवासमेत प्रदान गरिएको आयोजकले जनाएको छ । कर्म फ्लाइट फाउण्डेशन नेपाल पोखराको आयोजना तथा बारपाक सुलिकोट गाउँपालिका–३ लायन्स क्लब अफ पोखरा स्काइ टाउन, स्वाँरा स्वास्थ्यचौकीको सहआयोजना तथा माझथर माविको प्राविधिक सहयोगमा शिविरको आयोजना गरिएको थियो ।

शिविरमा हाडजोर्नी रोग विशेषज्ञ डा ईश्वर शर्मा, स्त्रीरोग विशेषज्ञ डा सरिता गुरुङलगायत पाँच चिकित्सकको टोलीले बिरामीको स्वास्थ्य उपचार गरेका थिए । रासस