चन्द्रमाको ‘अँध्यारो पाटो’मा सफलतापुर्वक अवतरण गर्यो चिनियाँ रोबोटिक अन्तरिक्ष यान !

एजेन्सी, १९ पुस । चन्द्रमाको यसअघि अध्ययन नगरिएको क्षेत्रमा चीनको अन्तरिक्ष यान अवतरण गरेको छ ।

चन्द्रमाको दक्षिणी ध्रुव ‘एटकेन बेसिन’मा चीनको मानवरहित ‘चाँग इ–४’ नामक यान सफलतापुर्वक अवतरण भएको हो ।

उक्त यानले सो क्षेत्रको भौगर्भिक अध्ययन गर्न र जैविक प्रयोग गर्न चाहिने उपकरण साथमा लगेको छ ।

चिनियाँ सरकारी सन्चारमाध्यम ‘सिन्ह्वा’ले उक्त अवतरणलाई ‘अन्तरिक्ष यात्राको महत्वपूर्ण कोसेढुंगा’ भनेर व्याख्या गरेको छ ।

पहिले अध्ययन नगरिएको परको क्षेत्रमा जाने लक्ष्य राखेकै कारण सो अभियान विगतका अभियानभन्दा बढी जोखिमपूर्ण तथा जटिल मानिएको थियो ।

सन् २०१३ मा चाँग इ–३ नामक यानले चन्द्रमाको सजिलो क्षेत्रमा अवतरण गरेको थियो ।

अब चीनले त्यहाँबाट चन्द्रमाका चट्टान तथा धुलोका नमुनाहरू पृथ्वीमा ल्याउनेछ । चन्द्रमाको उक्त परको क्षेत्रलाई ‘अँध्यारो पाटो’ भनिन्छ ।