हावाहुरीबाट पीडितलाई घाइतेको उपचार गर्न आग्रह

काठमाडौँ, १८ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बारा र पर्साका विभिन्न क्षेत्रमा गए राति आएको हावाहुरीबाट पीडितलाई थप उद्धार, राहत र क्षतिपूर्तिका साथै घाइतेको उपचार गर्न सरकारलाई आग्रह गरेको छ ।

पार्टीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा घटना हुनासाथ सरकारका तर्फबाट उद्धारमा देखाइएको तत्परताले थप मानवीय क्षति हुनबाट बचाएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा मृतकका शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गर्दै उक्त घटनामा परी घाइते हुनेको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । हावाहुरीका कारण बाराका स्थानीय भलुही, परैनिया परसौन, बिजबनियाका साथै पर्साका केही स्थानमा इट्टाभट्टा भत्केर, बिजुलीका पोल लडेर, गुडिरहेका सवारी साधन पल्टेर र घर भत्केर हालसम्म २७ को मृत्यु र पाँच सयभन्दा बढी घाइते भएको जनाइएको छ ।

नेकपाका केन्द्रीय सदस्य नागेन्द्र चौधरीका अनुसार पाँच जना घाइतेलाई काठमाडौँ ल्याइएको छ । प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीसहित मन्त्रीहरु आजै घटनास्थल पुगी स्थितिको जानकारी लिने कार्यक्रम रहेको प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहाकार अच्चुत मैनालीले जानकारी दिनुभयो । रासस