‘सर्भिस ट्रयाक’ निर्माण शुरु भएको छ

भक्तपुर, १८ पुस | मध्यपुरथिमि नगरपालिका वडा नं ४ स्थित राष्ट्रिय क्षयरोग केन्द्रदेखि शङ्खधर चोकसम्मको छ लेन सडकमा ‘सर्भिस ट्रयाक’ निर्माण शुरु भएको छ ।

प्रतिनिधिसभा सदस्य महेश बस्नेत र मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले संयुक्त रुपमा आज सो ट्रयाकको शिलान्यास गर्नुभयो ।

सो अवसरमा पूर्वउद्योगमन्त्रीसमेत रहनुभएका सांसद बस्नेतले भक्तपुरको सडकलाई सफा, शान्त, जाममुक्त, सुरक्षित र उज्यालो सडक बनाउने अभियान सञ्चालन भएको बताउँदै सोही अभियानस्वरुप अहिले मध्यपुरथिमि नगरपालिकाका क्षेत्रमा निर्माण हुन बाँकी रहेका सर्भिस ट्रयाकको निर्माण शुरु भएको जानकारी दिनुभयो ।

सडकको दायाँबायाँ रहेको सर्भिस ट्रयाकलाई छुट्टै मोटरसाइकल लेन बनाएपछि मोटरसाइकल दुर्घटनामा न्यूनीकरण हुने विश्वास व्यक्त गर्दै उहाँले भक्तपुरलाई जाममुक्त र दुर्घटनामुक्त सडक बनाउने अभियान शुरु भइसकेको बताउनुभयो ।

सांसद बस्नेतले भन्नुभयो, “सर्भिस ट्रयाक निर्माण सम्पन्न भएसँगै मोटरसाइकल लेन छुट्टै हुनेछ, त्यसले जामलाई पनि कम गर्नेछ, छ लेन सडकमा निर्माण भइरहेको हनुमन्ते र मनोहरा नदीको पुल निर्माण सम्पन्न भएसँगै जाम कम हुन्छ, यो राजमार्गलाई सफा, शान्त र हरियाली बनाउन सरसफाइ, वृक्षरोपण कार्य अभियानकैरुपमा अगाडि बढाएको छ ।”

कोटेश्वर भक्तपुर सडकलाई जाममुक्त बनाउन जडीबुटीबाट नरेफाँट हँुदै बालकुमारी जाने सडकको आँखा अस्पताल नजिकै रहेको हनुमन्ते खोलामा तत्कालका लागि बेलिब्रिज निर्माण शुरु भएको उहाँले बताउनुभयो ।

मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले क्षयरोग अस्पतालदेखि शङ्खधर चोकसम्मको ५०० मिटर क्षेत्रफलमा नगरपालिका आफैँले सर्भिस ट्रयाक निर्माण गर्न लागेको जानकारी दिनुभयो ।

नगरपालिकाले यसका लागि तत्काल रु ५० लाखको बजेट विनियोजन गरेको उल्लेख गर्दै उहाँले सर्भिस ट्रयाक निर्माण सम्पन्नसँगै दुर्घटना न्यूनीकरणसमेत हुने बताउनुभयो ।

नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, प्रशासकीय अधिकृत कमल ज्ञवाली, वडा नं ४ का वडाअध्यक्ष कुमार श्रेष्ठलगायतले अरनिको राजमार्गलाई दुर्घटनामुक्त राजमार्ग बनाउन लागिपरेको धारणा व्यक्त गर्नुभयो । रासस