झापामा आगलागी हुँदा चार घर जलेर नष्ट

दमक, १८ पुस । झापामा आगलागी हुँदा चार घरसहित टहरा जलेर नष्ट भएका छन् ।

जिल्लाको कमल गाउँपालिका–१ स्थित बाँसबारीमा आज अपरान्ह् आगलागी भएको हो ।

स्थानीय राजदेवसिंह दनुवारको घरमा आगलागी हुँदा उहाँको घर, गोठ र टहरा जलेको वडा नं १ का अध्यक्ष केदार कटुवालले जानकारी दिनुभयो ।

आगलागीबाट दनुवारको घरमा भण्डारण गरिएको धान, चामल तथा लत्ताकपडासमेत जलेर नष्ट भएको जनाइएको छ ।

गाईवस्तुलाई खोले पकाउने क्रममा गोठबाट आगो सल्किएको उहाँले बताउनुभयो ।