५१ जना विद्यार्थीलाई बस भित्र थुनेर ड्राइभर आफैंले पेट्रोल छर्केर आगो लगाए !

रोम, ८ चैत्र । इटालीको मिलानमा ५१ जना विद्यार्थी बोेकेको एउटा स्कुल बसलाई अपहरण गरेर सो बसका ड्राइभरले आगजनी गराएका छन् ।

केटाकेटीमध्ये कतिपयलाई भित्र बाँधेर राखिएको भए पनि झ्याल फुटाएर उनीहरूको उद्धार गरिएको प्रहरीले जनाएको छ । १४ जना बालबालिकाले धुवाँका कारण अप्ठ्यारो महसुस भए पनि कसैलाई स्वास्थ्यसम्बन्धी गम्भीर समस्या भने उत्पन्न नभएको जनाइएको छ ।

उक्त घटना गराउने ड्राइभर ४७ वर्षिय इटालीका नागरिकलाई प्रहरीले गिरफ्तार गरेको छ । उनी सेनेगलका मूल बासिन्दा भएपनि लामो समयदेखि इटाली बस्दै आएका थिए । ड्राइभरले बाटोमा पुगेपछि ‘अब कोही पनि बाँच्ने छैन’ भनेर धम्क्याएका थिए ।

सो बसमा चढेका एकजना शिक्षकका अनुसार सो ड्राइभरले इटालीको आप्रवासी सम्बन्धी नीतिको विरोध समेत गरेका थिए ।

दुइवटा कक्षामा पढ्ने भाइलाती दि क्रेमा स्कुलका किशोर अवस्थाका बालबालिकाहरूलाई जिमका लागि बाहिर लगिएकोमा उनीहरूलाई नियमित रुटभन्दा अर्कै बाटो प्रयोग गरेर ड्राइभरले लगेका थिए । त्यसपछिको झण्डै ४० मिनेटको समयमा यी सबै गतिविधि भएका हुन् ।

बाटोमा ड्राइभरले हातमा चक्कु लिएर विद्यार्थीहरूलाई सम्बोधन गरेका थिए । त्यही वेलामा एकजना बालकले फोनबाट घटनाक्रमको बारेमा आफ्ना बाबुआमालाई जानकारी गराए । त्यसपछि ती अभिभावकले प्रहरीलाई भनेपछि लगत्तै प्रहरी पुगेको घटनास्थल पुगेको थियो ।

प्रहरीका अनुसार बसको वरपरि पेट्रोल छर्केर आगो सल्काइसकेको थियो । त्यसैले, यो आगो लागेर विस्फोट हुनुअघि नै प्रहरीले बालबालिकाहरूलाई उद्धार गरेको थियो । मिलानका अभियोजकले सो घटना आतंकवादसमेत हुन सक्ने कुरालाई समेत ध्यान दिँदै सबै हिसाबले अध्ययन भइरहेको जनाएका छन् ।

इटालीका आन्तरिक मामिला मन्त्री माट्टेओ साल्भिनीले सो व्यक्तिको पृष्ठभूमि आपराधिक पाइएको उल्लेख गरे ।