फोहर पानीले बगरखेती फस्टायो

– रिपेश दाहाल
हेटाँैडा, ८ चैत। मौसमविद्हरुले प्रि–मनसुन शुरु भयो भनेअनुसार नै देशको अधिकाँश क्षेत्रमा पानी प¥यो । परम्परागत रुपमा खेती गर्दै आइरहेका किसानले यतिखेर बारीमा मल छर्न, खनजोत गर्न र मकै छर्न थालिसकेका छन् । कतिपय भने थप वर्षाको प्रतीक्षामा छन् । सिन्धुली जिल्लाको हरिहरपुर गढी गाउँपालिका र मकवानपुरको बागमती गाउँपालिकाको बागमती नदीको बगर भने बेमौसमी ‘पानी मकै’को धानचमराले सेताम्ये हुन थालिसकेको छ ।

मकै भन्नासाथ धेरैलाई पाखोबारीमा फल्ने अथवा कम पानी चाहिने बाली हो भन्ने लाग्न सक्छ तर, यो क्षेत्रमा बागमती नदीको पानी सिधै मकैको जरा जराबाट निरन्तर कुदाइन्छ र पानी मकै फलाइन्छ । यद्यपि त्यो मकै कुनै खास प्रजातिको नभएर नेपालको अधिकाँश जमीनमा लगाइने विकासे जातको मकै नै हो तर, नदीको बगरमा छिपछिपे पानी भित्रै उत्पादन हुने भएर कतिपय यसलाई पानी मकै भन्न रुचाउँछन् । नदीभित्रै मकैखेती गरेर मकवानपुर र सिन्धुलीका २०० भन्दा बढी किसानले सयौं मुरी मकै नदीबाटै उत्पादन गर्छन् । यद्यपि, फर्सी, घिरौंला, काँक्रो जस्ता तरकारीबाली पनि नदी बगरमा प्रशस्त फल्छन् । मकवानपुरको बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानका अनुसार सिन्धुली र मकवानपुर गरी ६० हजार हेक्टर बगरमा पानी मकैसँगै अन्य अन्न बाली र तरकारीहरु उत्पादन भइरहेका छन् । बगर खेतीले धेरैको जीवनस्तर उकास्न मद्दत पु¥याएको छ । यसलाई व्यवस्थित गर्न सके दुई छिमेकी जिल्लाका दुई गाउँपालिका मात्र नभएर प्रदेश र सिङ्गो देशकै अर्थतन्त्रमा टेवा पुग्छ भन्ने उहाँको ठम्याइ छ ।

धार्मिक दृष्टिले बागमतीको महत्व छँँदैछ । त्यस बाहेक पनि सिँचाइ गर्न, माछा मार्न, बिजुली निकाल्न र अन्य थुप्रै काममा बागमतीको पानी प्रयोग गरिएको छ । काठमाडौँको अचेलको बागमतीलाई मात्रै सम्झने हो भने यो नदी कम, ढल ज्यादा लाग्छ । न त त्यो नुहाउन काम लाग्छ, न त बस्तुभाउलाई खुवाउन । नदीबाट निस्कने दुर्गन्ध सोची नसक्नु छ । चोभारबाट निस्कँदै बागमती मकवानपुरलाई ललितपुर, काभ्रे र सिन्धुलीसँग जोड्दै बग्ने क्रममा जब मकवानपुरको बागमती गाउँपालिका पुग्छ त्यसपछि भने बागमतीको फोहरले मोहर फलाउन योगदान दिन्छ । नदी आसपास बस्ने किसानहरु नदीको बगरमा चाहे जति क्षेत्र निर्धारण गरेर मकै लगाउँछन् । त्यो मकैमा बागमतीको लेदो पानी बगाइदिन्छन् । बागमतीको ढलको मल भेटेको मकै बटारिएर आउँछ, घोगा पनि राम्रै लाग्छ ।

विगत केही वर्षदेखि सिन्धुली र मकवानपुरका सयौं किसानले बागमतीको प्रदूषित पानीलाई अधिकतम उपयोग गरेर अर्थोपार्जनको गतिलो माध्यम बनाएका छन् । हरिहरपुर सिन्धुलीका बहादुर सिंह लोप्चनको रुखोपाखो बारी छ । समयमा पानी परे र प्रशस्त मल हाल्न सके अलिअलि मकै फल्छ र त्यसले लोप्चन परिवारलाई दुई महिना मात्रै खान पुग्छ । उहाँ भन्नुहुन्छ – “बगरमा मकै छरे पछि सामान्य गोडमेल मात्रै गरे पनि प्रशस्त उत्पादन हुन्छ । बढी नै खटिए बेच्न समेत पुग्छ ।” किसान लोप्चनका अनुसार बगरमा मकै लगाउन गाह्रो छ । नदीको पानी तर्काएर मकै छर्नुपर्छ । माटो नहुने हुँदा बालुवा भेटिने गरी मकैको दाना राख्ने र पुर्ने गरेपछि अलिअलि पानी छोड्नु पर्छ । बिरुवा उम्रेपछि र ठूलो हँुदै गएपछि पानी नियमित गराउनुपर्छ । बगरमा बालुवा र ढुङ्गा मात्र हुने हँुदा एक÷दुई दिन मात्रै पानी नहुने हो भने पनि मकै ओइलाउन सक्छ । गोडमेलको पनि अलग्गै तरीका छ । बगरमा खनेर गोड्न मिल्दैन । मकैको बोटको फेद र वरिपरि उम्रिएका झारपातलाई उखेल्ने र ढुङ्गाले थिचिएका बोटहरुको ख्याल गर्ने गरे थप गोडमेल गरिरहन पर्दैन ।

त्यस्तै, बागमती गाउँपालिकाका शुक्रबहादुर पहरी बगरखेतीका कारण आफूहरुले पेटभरि खान पाएको बताउनुहुन्छ । पहरीका अनुसार मकैखेतीको सबै भन्दा ठूलो चुनौती भनेको सुरक्षा नै हो । बिहानदेखि बेलुकासम्म नै बस्तुभाउ तथा मानव समेतबाट यसलाई जोगाउन गाह्रो छ । बगरमै मकैखेती गर्ने राई गाउँका टंक राई पनि बगरखेतीले आर्थिक स्तर उकास्न मद्दत पुगेको बताउनुहुन्छ ।

यस क्षेत्रको आर्थिक प्रगतिमा बगर खेतीले निक्कै ठूलो योगदान दिएको तथ्यलाई ध्यानमा राखेर बागमती गाउँपालिकाले यसलाई व्यवस्थित गर्ने योजना बनाइरहेको छ । सङ्घ र प्रदेश सरकारलाई समेत अनुरोध गर्ने गरी हामी योजना बनाउँदै छाँै, अध्यक्ष घलानले भन्नुभयो । सीमित व्यक्तिहरु मात्र संलग्न भइरहेको अवस्थामा भोलिका दिनमा अन्य व्यक्तिहरु थपिएर विवाद बढ्न सक्नेतर्फ अहिले नै सचेत हुनुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “बगरमा सीमा हुन्न । कसैलाई बढी कसैलाई कम भन्ने गुनासा आउन सक्छन् । अहिले पो जसले जति खेती गर्दा पनि फरक परेको छैन । सबैलाई मान्य हुने मापदण्डहरु निर्माण गरेर गाउँपालिकाले काम गर्ने उहाँले जानकारी दिनुभयो । मकवानपुर र सिन्धुलीको बीचमा रहेको औसत तीन किलोमिटर चौडा र २० किलोमिटर लामो क्षेत्रफलको नदी क्षेत्रमा किसानहरुले सामूहिक तथा एकल खेती गर्दै आइरहेका छन् । विगतमा काँस मात्र फुल्ने बगरमा अचेल मकै तथा अन्य बाली फल्न थालेका छन् । फसल लागेर किसानको दैनिकी फेरिएको छ र उनीहरुले आयआर्जनको विकल्प पाएका छन् ।

बगरमा गरिने मकैखेतीले बागमतीको फोहर पानीलाई प्राकृतिक रुपमै प्रशोधन गर्छ । बगरको २० किलोमिटर लम्बाइमा गरिएको मकैखेतीबाट गुज्रिएर आएको लेदो पानी अन्तिमसम्म पुग्दा सफा भइसक्ने स्थानीयवासी शम्शेर राईले जानकारी दिनुभयो । “हामीले पानी रहेको कसिङ्गर र लेदोलाई यतै सिध्याई दिन्छौ,ं सङ्ग्लो पानी पठाउछौं,” उहाँले भन्नुभयो । रासस