लैङ्गिक हिंसाविरुद्ध जनचेतामूलक कार्यक्रम गर्ने

काठमाडौँ, ७ चैत । समुदाय प्रहरी साझेदारी अवधारणाअनुसार काठमाडौँ जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समितिको आज बसेको बैठकले लैङ्गिक हिंसाविरुद्ध जनचेतामूलक कार्यक्रम तथा अनुगमन सञ्चालन गर्ने निर्णय गरेको छ ।

महानगरी प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाको अध्यक्षतामा बसेको बैठकले काठमाडौँको भीमढुङ्गामा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, डान्सबार, मसाज सेन्टर र इँट्टाभट्टाहरुमा अनुगमन गर्ने निर्णय गरेको हो ।

सो स्थानहरुमा लैङ्गिक हिंसा नियन्त्रण तथा १९ वर्षभन्दा मुनिका बालबालिकालाई काममा लगाएको वा नलगाएको लगायतका विषयमा अध्ययन गर्नेछ । समाजमा हुने अपराध रोकथाम गर्ने, सामाजिक विकृत–विसङ्गतिविरुद्ध जनचेतना फैलाउने एवम् जनसहयोगमा सामुदायिक सुरक्षा गर्ने उद्देश्यले सो समिति गठन गरिएको हो । रासस