प्रचण्डविरुद्ध अमेरिकामा उजुरी दर्ता गर्ने यी व्यक्ति को हुन् ? जान्नुहोस्

काठमाडौं, ५ चैत्र । पत्नि सीता दाहालको उपचारका लागि अमेरिका गएका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डविरुद्ध गत आइतबार अमेरिकामा उजुरी परेको छ ।

केन्टुकी स्टेट युनिभर्सिटीमा कार्यरत डा तिलक श्रेष्ठले अध्यक्ष दाहालविरुद्ध उजुरी गरेका हुन् ।

उनले बाल्टीमोरस्थित संघीय ब्युरोमा युद्ध अपराध र आतंकवादी कार्यमा संलग्न भएको भन्दै अध्यक्ष प्रचण्डविरुद्ध उजुरी दर्ता गरेका थिए ।

उनले दायर गरेको उजुरीपत्रमा प्रचण्डलाई आतंककारी भनिएको छ। ‘आतंकवादी भनेर चिनिएका पुष्पकमल दाहाल नेपालबाट आएको छन् । उनी अमेरिकाको आतकंककारी सूचीमा रहेका थिए ।

उनी संलग्न भएको गतिविधिका कारण १७ हजारभन्दा बढी गरिब नेपाली मारिएका थिए,’ डा श्रेष्ठले दायर गरेको उजुरीमा उल्लेख छ ।

श्रेष्ठ हाल केन्टुकी स्टेट युनिभर्सिटीमा रिसर्च एसोसिएटका रुपमा कार्यरत रहेको विश्वविद्यालयको वेवसाइटमा उल्लेख छ । उनले यसअघि नर्थ एलाबामा सेन्टर फर एजुकेशन एक्सिलेन्समा शिक्षाविद्का रुपमा काम गरेका थिए ।

उनले युनिभर्सिटी अफ फ्लोरीडामा भौगर्भिक इन्जिनियरिङ विषयको अध्ययन गरेका थिए । विद्यालयीय शिक्षा काठमाडौंको पद्मोदय हाइ स्कुलबाट पूरा गरेका श्रेष्ठ विद्यावारिधि उपाधि प्राप्त गरेका छन् । उनी हाल अमेरिकाको हन्टभिल्ला अल्बामामा बस्दै आएका छन् ।