नेपालीले नेपालकै भूमि प्रयोग गर्न हरेक माघ १ गते भारतलाई तिरो तिर्छन् !

काठमाडौं, ३ चैत्र । कैलालीको नेपाल–भारतको सीमा नदी मोहनापारि भारतको दुदुवा राष्ट्रिय निकुञ्जसँग जोडिएका कैलारी गाउँपालिका–३ का मोहनपुर र शिवरत्नपुर तथा ७ को हौसलपुरका बासिन्दाले हरेक माघ १ मा निकुञ्ज प्रशासनलाई वार्षिक तिरो तिर्ने गरेका छन् ।

मोहनपुरका ६१ घरपरिवारले तिरोबापत चन्दन चौकी वन पोस्टमा १० किलो चामल र ५ किलो हल्दी बुझाउने गरेका हुन् ।

शिवरत्नपुरका ८४ घरपरिवारले वार्षिक प्रतिघर ३ सय रुपैयाँ निकुञ्ज प्रशासनलाई बुझाउँछन् ।

त्यसैगरी हौसलपुरका ३५ परिवारले ४ पसेरी (२० किलो) चामल निकुञ्जलाई दिँदै आएका छन् । ‘तिरो बुझाएबापत निकुञ्जछेउको जंगलबाट घाँस, दाउरा बटुल्ने र बाख्रा चराउने सुविधा पाएका छौं,’ शिवरत्नपुरका रूपलाल चौधरीले भने ।

स्थानीय फूलराम चौधरीले वार्षिक तिरो तिरेर निकुञ्ज प्रशासनलाई खुसी पार्नु आफूहरूको बाध्यता भएको बताए । ‘निकुञ्जबाट घाँस–दाउरा र गाईगोरु चराउने सुविधा लिन पाइन्छ,’ उनले भने, ‘बस्तीको सुरक्षाका लागि पनि तिरो तिर्न बाध्य छौं।’