रेमिट्यान्स आप्रवाहमा २८ दशमलव ५ प्रतिशतले वृद्धि, सात महिनामा भित्रियो ५ खर्ब १५ अर्ब

काठमाडौं, ३ चैत्र । चालू आर्थिक वर्ष २०७५÷७६ को सात महिनामा ५ खर्ब १५ अर्ब ५५ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको आजको राजधानी दैनिकमा समाचार छापिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार, रेमिट्यान्स आप्रवाहमा २८ दशमलव ५ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १ दशमलव ७ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षमा यस्तो विप्रेषण आप्रवाह ६ दशमलव ४ प्रतिशतले बढेको थियो ।

वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकतर्फ जाने कामदारलाई दिइने अन्तिम श्रम स्वीकृति (संस्थागत एवं व्यक्तिगत) का आधारमा राष्ट्र बैंकले कामदार बाहिरिने संख्या समीक्षा अवधिमा ३९ दशमलव २ प्रतिशतले घटेको बताएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४ दशमलव ९ प्रतिशतले घटेको थियो । यसैगरी, पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जानेको संख्या सो अवधिमा ४ दशमलव ९ प्रतिशतले बढेको छ ।