वायुसेवा निगमको वाइडबडी खरिदमा ४ अर्ब ३५ करोड भ्रष्टाचार ठहर, पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित दुई पूर्वमन्त्री र गृहसचिवलाई निलम्बन सिफारिस

वाइडबडी विमान खरिद : संसदीय समिति गठनको माग

काठमाडौँ, १७ पुस । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसद डा अमरेशकुमार सिंहले सरकारले दुईवटा वाइडबडी विमान खरीद गर्दा सार्वजनिक खरीद ऐन र नियमावलीका प्रावधानको पालना नगरेको आरोप लगाउनुभएको छ ।

उहाँले वाइडबडी विमान खरिद गर्दा सम्झौता भएको कम्पनी एक महीनापछि मात्र दर्ता भएको प्रमाण फेला परेकाले संसदीय समिति गठन गरी छानबिन गर्न माग गर्नुभयो ।

सांसद पम्फा भुसालले कर्मचारीले खटाएको स्थानमा जानुपर्ने उल्लेख गर्नुहँुदै वृत्ति विकासमा असर पर्ने गरी गरिएको व्यवस्था संशोधन गर्न माग गर्नुभयो । सांसद विमलप्रसाद श्रीवास्तवले स्थानीय तहका कर्मचारीलाई पन्छाएर विकास निर्माणका काम हुन नसक्ने बताउनुभयो ।

बैठकमा सांसद मेटमणि चौधरीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सबैको उपचार हुने र अन्यत्र जानु नपर्ने आशा गरिएकामा केही कर्मचारीको दादागिरीले अस्पतालको अवस्था नाजुक बनेको बताउनुभयो । निःशुल्क श्ययाको समेत शुल्क निर्धारण गरिएको, कर्मचारीले साउनदेखि तलब नपाएकामा उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद उमेश श्रेष्ठले राष्ट्रिय शिक्षा आयोगले निजी विद्यालयलाई बेवास्ता गरेको, सरकारले शिक्षामा कम लगानी गरेको, देशभर ६० हजार शिक्षक उपलब्ध हुन नसकेकाले शिक्षाको गुणस्तर खस्किएको बताउनुभयो ।

सांसद विमला विकले झापामा चिया उद्योग गरिरहेका साना किसानलाई समेट्न वैज्ञानिक चिया नीति बनाउन माग गर्नुभयो । सांसद गजेन्द्र महतले संसद्का कर्मचारीले दिएको सूचनाका आधारमा सञ्चारमाध्यमले सांसदका बारेमा समाचार प्रकाशित गरेको बताउनुभयो । रासस

वाइडबडी खरिद प्रकरणमा मुछिएका पर्यटनमन्त्री अधिकारीसहित दुई पूर्वमन्त्री र सचिवलाई निलम्बन सिफारिस

काठमाडौँ, १८ पुस । छानविन गर्न गठित लेखा समिति अन्तर्गतको उपसमितिले वाइडबडी खरिदमा भएको अनियमितता पछी पर्यटनमन्त्री रविन्द्र अधिकारी, तीन सचिवलाई कारबाही गर्न सिफारिस गरेको छ । यो समाचार अनलाइनखबरले लेखेको छ ।

समितिका एक सदस्यका अनुसार करिव ४ अर्ब २५ करोड भ्रष्टाचार भएको ठहरसहित ३८ पेजको प्रतिवेदन तयार भएको छ । तर, पर्यटनमन्त्रीलाई कारबाही सिफारिस गर्ने कि नगर्ने भन्ने विवाद देखिएको थियो । राति अवेर सकिएको बैठकमा मन्त्री अधिकारी, सचिव कृष्णप्रसाद देवकोटालाई कारबाही गर्न सिफारिस गरेको छ ।

वायुसेवा निगमका प्रवन्ध निर्देशक सुगतरत्न कंशारकारलाई तत्काल निलम्बन गरी कारबाही गर्न पनि सिफारिस गरेको छ । यसबारे थप अनुसन्धान गर्न अख्तियार पठाउने पनि उपसमितिको प्रतिवेदनमा उल्लेख छ । वायु सेवा निगमले ल्याएको दुई वटा बाइडवडीबारे अध्ययन गर्न लेखा समितिका राजेन्द्र केसीको नेतृत्वमा उपसमिति बनाएको थियो ।

पूर्वमन्त्री जितेन्द्र नारायण देव र जीवनबहादुर शाहीलाई पनि कारबाही सिफारिस भएको छ । तत्कालीन पर्यटन सचिवहरु प्रेम राई र शंकर अधिकारीलाई पनि कारबाही गर्न सिफारिस भएको एक सदस्यले बताएका छन् । राई हाल गृह मन्त्रालयका सचिव छन् ।

भ्रष्टाचार र हत्याहिंसा बढेको आरोप

हिलिहाङ, १७ पुस । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य महेन्द्र यादवले वाइड बडी जहाज खरीद प्रक्रियामा रु चार अर्ब बढी घोटाला भएको भनिए पनि सरकारले खरीद प्रक्रियामा संलग्नलाई कारवाही गर्न नसकेको आरोप लगाउनुभएको छ ।
पाँचथरको फिदिममा आज बिहान पार्टीका कार्यकर्तासँगको भेटघाटमा पूर्वसिँचाइमन्त्री यादवले देशमा भ्रष्टाचार र हत्याहिंसा बढेको, ३३ किलो सुनकाण्डमा संलग्नलाई अहिलेसम्म पक्राउ गरी कारवाही गर्न नसकेको, निर्मला पन्त हत्याकाण्डका दोषी पत्ता लगाउन नसकेको जस्ता क्रियाकलापले सरकार कमजोर भएको विचार व्यक्त गर्नुभयो ।

यस्तै विनाप्रतिस्पर्धा अरुण तेस्रो भारतलाई र बूढीगण्डकी चीनको कम्पनीलाई दिएर सरकारले भ्रष्टाचारको चरमसीमा नघाएको उहाँको भनाइ थियो । अहिले काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौड्यालबीच भावनागत एकता भइसकेको छ भन्दै उहाँले अब पार्टी एक ढिक्का भएर अघि बढ्ने बताउनुभयो । रासस