अब नेपालमा पनि बोइङ ७३७ म्याक्स नआउने !

काठमाडौं, २९ फागुन । भारतले बोइङ ७३७ म्याक्सलाई आफ्नो हवाई क्षेत्रमा प्रवेश गर्न रोक लगाएसँगै नेपाल आउने बाटो पनि बन्द भएको छ ।

भारतले बोइङ ७३७ म्याक्सलाई आफ्नो हवाई क्षेत्र प्रवेश गरेर एक देशबाट अर्को देशमा जान रोक लगाएपछि नेपालमा पनि म्याक्स आउने बाटो बन्द भएको हो ।

इथियोपियन एयरलाइन्सको विमान दुर्घटनामा १५७ जनाको ज्यान गएपछि भारतसहित बोइङ ७३७ म्याक्समाथि विभिन्न देशले प्रतिबन्ध लगाएको छ ।

पछिल्लो पटक बुधबार भारतको नागर विमान मन्त्रालयले साँझ ४ बजेबाट भारतीय हवाई क्षेत्रमा कुनै पनि बोइङ ७३७ म्याक्स मोडललाई प्रवेश नदिने बताएको छ ।

नागरिक उड्डयन प्रधिकरणका अनुसार नेपालमा हाल बोइङ ७३७ म्याक्सले उडान भरेका छैनन् ।

त्रिभुवन विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार इथियोपियन एयरलाइन्सको दुर्घटना अघिसम्म सिल्क एयरको एउटा बोइङ ७३७ म्याक्स विमान नेपाल आउने गरेको थियो । तर, सिंगापुरले बोइङ ७३७ म्याक्समा रोक लगाएपछि सो विमान नेपालमा पनि आएन ।

अब भारतको नयाँ निर्णयले बोइङ ७३७ म्याक्सलाई नेपाल आउने सबै बाटो बन्द भएको छ । किनभने नेपाल आउन भारत वा चीनको एयर रुट प्रयोग गर्नैपर्छ । चीनले पनि यो विमानमाथि प्रतिवन्ध लगाइसकेको छ ।

नेपाल नागरिक उड्ड्यन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले नेपालमा बोइङको ३३७ म्याक्स सिरिजका विमानमा प्रतिवन्ध लगाउने वा नलगाउने भन्ने विषयमा छलफल थालिएको जानकारी दिए ।