दीपक मनाङे अर्थ तथा विकास समितिको सदस्यमा नियुक्त

पोखरा, २८ फागुन । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङेले राजनीतिमा पनि एक पछि अर्को छलाङ मार्न थालेका छन् ।

संसदको पद तथा गोपनियताको सपथ खाएको केहि महिनापछि मनाङे अर्थ तथा विकास समितिको सदस्य नियुक्त भएका छन् ।

मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ बाट निर्वाचित राजीव गुरुङलाई गण्डकी प्रदेशसभाले अर्थ तथा विकास समितिको सदस्य नियुक्त गरेको हो ।

१३ सदयस्यीय समितिमा एक सदस्य खाली रहेको थियो जसमा मनाङेलाई नियुक्ति गरिएको सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिए । ‘खाली रहेको पदपूर्ति गरेका हौँ,’ सभामुख अधिकारीले भने, ‘अब समितिले पूर्णता पाएको छ ।’ उक्त समितिले विकास निर्माणको कामको अनुगमन र सरकारलाई निर्देशन दिने काम गर्छ । विकास समितिको सभापति भने दिपक कोइराला रहेका छन ।

मनाङे निर्वाचित भएको झन्डै एक वर्षपछि प्रदेशसभा छिरेका थिए।