ताप्लेजुङ हेलिकप्टर दुर्घटनाबारे जाँच गर्न गएको टोली आकासबाटै घटनास्थलको अवलोकन गरी फर्कियो !

काठमाडौं, २७ फागुन । पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको ज्यान जानेगरी फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनाको जाँचबुझका लागि भन्दै गएको टोली दुर्घटनास्थलमै नपुगी फर्किएको छ ।

पूर्वपर्यटनसचिव यज्ञ प्रसाद गौतमको नेतृत्वमा आइतबार ताप्लेजुङ गएको छानबिन समितिको टोली घटनास्थलमै नपुगी काठमाडौं फर्किएको हो ।

आइतबार बिहान अवलोकनका लागि गए पनि छानबिन टोली पाथीभरा मन्दिरका पुजारी, स्थानीयवासी र प्रत्यक्षदर्शीसँगमात्रै छलफल गरेर फर्किएको समाचारमा जनाइएको छ ।

छानबिन समितिका सदस्यसचिव तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले मौसमका कारण दुर्घटनास्थलमा हेलिकोप्टर अवतरण गर्न नसकेपछि आकाशबाटै अवलोकन गरेर फर्किएको बताए ।

दुर्घटनास्थलमा हेलिकोप्टरको पछाडिको भाग मात्र बाँकी रहेको देखियो । पछाडिको भाग अनुसन्धानका लागि त्यति उपयोगी नहुने उनले बताए ।

पूर्वपर्यटनसचिव यज्ञ प्रसाद गौतमको संयोजकत्वमा गएको छानबिन समितले दुर्घटनास्थलमा अध्ययन र अनुसन्धानमा आवश्यक कुनै पनि पार्टपुर्जा र प्रमाण नभेटिएको निष्कर्षसमेत निकालेको छ ।