पाटनमा स्थानीयको आन्दोलनले लियो उग्र रुप : स्थिति नियन्त्रणमा लिन प्रहरीद्वारा १८ राउण्ड हवाई फायर, ४ प्रहरीसहित ७ जना घाइते !

काठमाडौँ , २६ फागुन । शनिबार बेलुका करिब ५ बजे बैतडीको पाटनमा ग्रेडरले किचेर एक विद्यार्थीको मृत्यु भएपछि स्थानीयले गरेको प्रदर्शनले उग्र रुप लिएको छ ।

जिल्लाको पाटन नगरपालिका- २ घर भई भीमदत्त पोलिटेक्निकल इन्स्टिच्युटमा अध्ययनरत १९ वर्षीय पूर्णानन्द पाण्डेको ग्रेडरले किचेर मृत्यु भएपछि पीडित परिवारलाई क्षतिपूर्तीको माग गर्दै स्थानीयले चर्काएको आन्दोलनका कारण उक्त क्षेत्र तनाबग्रस्त बनेको हो ।

आक्रोशित आफन्त र विद्यार्थीहरुले अहिले पाटन बजार बन्द गराएर दशरथचन्द राजमार्ग अवरुद्ध पारेका छन् । यसका साथै पाटन बजारको चोकचोकमा टायर बाल्नुका साथै दोषीमाथी कडा कारवाहीको माग गर्दै नाराबाजी गरिरहेका छन् ।

स्थिति तनावग्रस्त भएपछि प्रहरीले १८ राउण्ड हवाई फायर र १५ सेल अश्रुग्यास प्रहार गरेको छ । आन्दोलनका क्रममा ४ प्रहरीसहित ७ जना घाइते भएका भएको बताइएको छ ।

ग्रेडरले किच्दा पाण्डेको घटनास्थलमा मृत्यु भएपछि चालक फरार भएकोमा प्रहरीले अहिलेसम्म नियन्त्रणमा लिन सकेको छैन ।