रणवीर र आलिया अप्रिलमा बिहे गर्दै, विवाहपछि न्युयोर्कमा सेटल हुने

एजेन्सी, २५ फागुन । केहि समयदेखि प्रेममा रहेका अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट चाँडै वैवाहिक बन्धनमा बाँधिने समाचारले अहिले बलिउड तातेको छ ।

भारतीय मिडियाका अनुसार अमेरिकामा उपचार गरिरहेका रणवीरका बाबु ऋषि कपुर भारत फर्केलगत्तै उनीहरुको विवाह गरिदिने छन् ।

ऋषि लगभग ठीक भइसकेका र आफूहरू अब चाँडै नै भारत फर्किने जानकारी रणवीरकी आमा नीतुले सामाजिक सञ्जालबाट दिएकी छिन् ।

रणवीर–आलियाको विवाहलाई लिएर उनीहरूको परिवारबाट आधिकारिक रूपमा कुनै घोषणा त आइसकेको छैन, तर रणवीरले विवाहको तयारी पनि सुरु गरिसकेका छन् भन्ने बुझिएको छ ।

मुम्बई मिररको रिपोर्टअनुसार रणवीर र आलियाले न्युयोर्कमा घर किन्ने योजना पनि बनाइरहेका छन् ।

घरको जिम्मेवारी आमा नीतुले उठाएको बताइएको छ । उनी न्युयोर्कमा आफ्ना छोरा र बुहारीका लागि भनेर घर खोजिरहेकी छिन् । आलिया र रणवीर पनि प्रायः न्युयोर्क गइरहन्छन् । दुवैलाई त्यो सहर खुब मन पर्छ । आलिया र रणवीर विवाहपछि न्युयोर्कमै सेटल हुनेछन् ।

आलिया र रणवीरलाई लिएर आएको विवाहको खबरअनुसार बाबु ऋषि मुम्बई आएपछि कपुर र भट्ट परिवारले पण्डितसँग भेट्नेछन् र विवाहको मिति तय गर्नेछन् ।

विवाहको मिति अप्रिलमा निकाल्ने कोसिस भइरहेको बताइएको छ । करण जौहरले पनि आलियालाई रणवीरसँग चाँडै विवाह गर्न सल्लाह दिएको बताइएको छ ।