त्रिविले दिएको प्रमाणपत्रमा त्रुटी नै त्रुटी !

काठमाडौं, १७ पुस । देशका उच्च सरकारी निकायहरुले कुनै कुरा लेख्दा वा छाप्दा बारम्बार दोहोर्याईरहेको त्रुटी संचारमाध्यममा आइरहे पनि फेरी त्यस्ता त्रुटी नदोहोरिउन भनेर खासै सजगता अपनाइएको पाइएको छैन । केहि दिन अगाडी मात्रै राष्ट्रपति कार्यालयबाट इन्डोनेसियामा प्राकृतिक प्रकोपबाट ज्यान गुमाएका जनताका लागि राष्ट्रपतिलाई पठाइएको शोक सन्देशमा भेटिएको गम्भीर त्रुटिको सर्बत्र आलोचना भएको थियो । त्यसको केहि दिन बित्न नपाउंदै सोमबार त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको दिक्षान्त समारोहमा वितरण गरिएको प्रमाणपत्रमा पनि त्रुटी भेट्टाइएको छ ।

स्नातक र स्नातकोत्तर तह उत्तीर्ण तथा विद्यावारिधि उपाधिप्राप्त विद्यार्थीहरूलाई देशकै सर्वोच्च प्राज्ञिक निकाय त्रिभुवन विश्वविद्यालयले सोमवार विशेष समारोह आयोजना गरी दीक्षित गर्‍यो ।

पुल्चोक इञ्जिनीयरिङ क्याम्पसको मैदानमा आयोजित दीक्षान्त समारोहमा त्रिविका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा ९ हजार ५ सय ४ जना विद्यार्थीलाई प्रमाणपत्र वितरण गरियो ।

तर त्रिविले विद्यार्थीलाई दीक्षित गर्दै वितरण गरेको प्रमाणपत्रमा भने गम्भीर त्रुटि भेटिएको छ । त्रिविले दिएको प्रमाणपत्रको तीनवटा पंक्तिभित्र ४ वटा त्रुटि भेटिएको छ । विद्यार्थीको नाममा ‘बहादुर’ हुनुपर्नेमा ‘वहादुर’ लेखिएको छ । यस्तै ‘संवत्’लाई ‘सम्वत्’ र ‘उत्तीर्ण’लाई ‘उतिर्ण’ लेखिएको छ ।

यस्तै अर्को पंक्तिमा स्नातक र उपाधिलाई जोडेर स्नातकोपाधि बनाइए पनि ‘का’लाई त्यसबाट अलग राखिएको छ । नेपाली व्याकरणमा विभक्ति अगाडिको शब्दसँग जोडिनुपर्छ ।

यतिमात्र होइन, प्रमाणपत्रको साजसज्जामा पनि त्रुटि छ । माथिल्ला दुई पंक्तिलाई अनावश्यक रूपमा बीचतिर पुर्‍याइएको छ भने अन्तिम पंक्तिलाई अगाडिबाटै शुरू गरिएको छ ।

त्रिविले दिएको प्रमाणपत्र हेर्नुहोस् :