विप्लवको गाउँमा ९ घण्टा लामो प्रहरी अप्रेसन: सैन्य शिविर सहित भेटिए अत्याधुनिक हतियार

काठमाडौं, २३ फागुन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ को गृहस जिल्ला कपिलवस्तु शिवराज नगरपालिका–९ मा प्रहरीले ९ घण्टा लामो सर्च अप्रेसन गरी विप्लवको सैन्य शिविर पत्ता लगाएको छ ।

शिवराज नगरपालिका–९ को सुन्दरी डाँडा गाउँभर गरिएको ‘स्वीप अपरेसन’ बाट विप्लव माओवादीको सैन्य शिविर फेला पर्नुका साथै ठूलो संख्यामा हात हतियार बरामद भएको प्रहरीले जनाएको छ ।

निकै अगाडिदेखि निगरानी रहेको यहाँ विप्लव माओवादीले सैन्य शिविर चलाउने गरेको तथ्य फेला परेको प्रहरीले दावी गरेको छ । लामो समयदेखि निगरानी गरिरहेको प्रहरीले बिहीबार बिहान विप्लवको गाउँभरी ‘स्वीप’ अपरेसन चलाएको हो ।

कपिलवस्तु प्रहरीका अनुसार जङ्गल क्षेत्र पर्ने सुन्दरी डाँडामा बिहीबार बिहान साढे ३ बजेदेखि प्रहरी परिचालन गरिएको हो । सुन्दरी डाँडामा विप्लवको घर छ तर, उनी र परिवार त्यहाँ बस्दैनन् । उनका आफन्त मात्रै बस्ने गरेको स्थानीयले जानकारी दिएका छन् । कपिलवस्तुका प्रहरी उपरीक्षक अच्युतम पुडासैनी आफैं खटिएको यो टोलीले विप्लवको घर तथा गाउँ आफ्नो नियन्त्रणमा लिएर छापा मारेको थियो ।

५ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पिताम्बर अधिकारीका अनुसार छापा मार्ने क्रममा आधुनिक स्वचालित हतियार, पेस्तोल र गोलीहरू बरामद भएका छन् । प्रहरीले विप्लवको गाउँमा अपरेसन गर्ने क्रममा शिवराज नगरपालिका–९ अञ्चलपुरका ४० वर्षीय दुर्गाबहादुर रोकालाई गोली हानी पक्राउ गरेको छ ।

हतियारसहित फेला पारेपछि रोकालाई पक्रन खोजिएको थियो । तर, उनी भागेपछि नियन्त्रण लिन प्रहरीले गोली चलाएको पुँडासैनी बताउँछन् । पक्राउ परेका रोका विप्लव माओवादीको कुन तहका नेता–कार्यकर्ता हुन्, खुलिनसकेको प्रहरी उपरीक्षक पुडासैनी बताउँछन् । प्रहरीले उनी कम्पनी कमाण्डर हुन सक्ने आशंका गरेको छ ।

आधुनिक हतियारसहित पक्राउ परेकाले रोका युद्ध प्रशिक्षणमा क्रियाशील हुनसक्ने प्रहरीको आशंका छ । पुडासैनीले भने, ‘बायाँ खुट्टामा गोली लागेर उनी घाइते भएका छन् ।’ उनलाई उपचारका लागि बुटवल लगिएको छ ।